सबै थ्री फेज मिटरलाई स्मार्ट बनाउने तयारी, चुहावट घट्ने दावी

१५ भदौ, काठमाडौं । सरकारले सबै थ्री फेज मिटरलाई स्मार्ट बनाउने भएको  छ । औद्योगिक र व्यवसायिक प्रयोजनमा थ्री फेज लाइन जोडेका ग्राहकको मिटर नेपाल विद्युत प्राधिकरणले स्मार्ट बनाउन लागेको हो ।

हाल यस्ता मिटरको संख्या ७० हजार रहेको अनुमान छ । आगामी २ वर्षभित्रै सबै थ्री फेज मिटरलाई स्मार्टमा रुपान्तरण गर्न काम सुरु भइसेकेको प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयले जनाएको छ ।

हाल प्राधिकरणका मिटरहरु स्मार्ट नहुँदा समय–समयमा उद्योगी/व्यापारी र प्राधिकरणबीच महसुल विवाद उत्पन्न हुने गरेको छ । प्राधिकरणले खपतका आधारमा बिजुलीको बिल काट्ने गरेको दावी गरे पनि व्यवसायीहरुले अन्याय हुने गरी ‘बिलिङ’ भएको आरोप लगाउने गरेका छन् ।

औद्योगिक तथा व्यवसायिक ग्राहकले प्रयोग गर्ने बिजुलीको खपत भइरहेको समयको अनुगमन र त्यसको वास्तविक तथ्यांक संकलन गर्न यो प्रविधि सहयोगी हुनेछ ।

अब कुन उद्योगले कुन समयमा कति परिमाणमा विजुली खपत गर्‍यो भन्ने सम्पूर्ण तथ्यांक रहने गरी स्मार्ट मिटर जोड्न सुरु गरिएको हो । यसबाट प्राधिकरणको महसुल असुलीमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ । यस्ता थ्री फेज मिटरलाई स्मार्टमा बदल्दा लाग्ने खर्च प्राधिकरणले नै बेहोर्नेछ ।

प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक हरराज आचार्यले १० हजार टीओडी मिटरमा पनि स्मार्ट प्रविधि जडानको काम सुरु भइसकेको जानकारी दिए । टीओडी मिटरलाई पनि प्राधिकरणको केन्द्रीय सर्भरमा जोड्ने गरी काम भइरहेको उनले बताए ।

हाल प्राधिकरणले काठमाडौंका केही क्षेत्रमा घरायसी ग्राहककोमा पनि स्मार्ट मिटर जोड्न तयारी गरिरहेको छ । काठमाडौंको पहिलो परियोजना सफल भएपछि क्रमशः देशभर नै यो योजनालाई लागू गर्दै लैजाने योजना बनाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यो आयोजना अन्तर्गत पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जोडिनेछ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका अनुसार कम्पनीले स्मार्ट मिटरको ‘डाटा सेन्टर’ पनि स्थापना गर्नेछ । त्यही डाटा सेन्टरबाट स्मार्ट मिटरिङ सिस्टम सञ्चालन हुनेछ ।

स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट घट्ने र बक्यौता पनि नरहने प्राधिकरणका कार्यकारी घिसिङ बताउँछन् ।

के हो स्मार्ट मिटर ?

स्मार्ट मिटर भनेको एक प्रकारको विद्युतीय उपकरण हो । यो उपकरण टु वे कम्यूनिकेसन अर्थात दोहोरो सञ्चार प्रणालीमा आधारित हुन्छ ।

ग्राहकले खपत गरेको बिजुलीको तथ्यांक ‘डाटा सेन्टर’मा हरेक पलमा आउने र त्यसको बिलिङ लगातार भइराखेर ग्राहकसम्म पठाउने गरी यो प्रणालीमा जडान हुन्छ । यस्तो डाटा रेडियो फ्रिक्वेन्सीमा आधारित भएर सञ्चार गरिन्छ ।

प्राधिकरणको केन्द्रीय प्रणालीले हर समयमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ । उपभोक्ताले विल तिरेको/नतिरेको पनि प्राधिकरणले कम्प्युटरमै बसेर हेर्न सक्छ ।

विकसित मुलुकहरुमा स्मार्ट मिटरको प्रयोग बढिरहेको छ । यस्तो मिटर जडान गरेपछि उपभोक्ता र प्राधिकरण दुवैलाई सजिलो हुनेछ । स्मार्ट मिटर डिजिटल डिस्प्लेयुक्त हुने भएकाले उपभोक्ताले विना झन्झट विजुली खपतका तथ्यांक हेर्न सक्छन् ।

के फाइदा ?

स्मार्ट मिटरिङ लागू भएपछि विद्युत प्राधिकरणमा बिजुली खपतको तथ्यांक ‘रियल टाइम’ मा आउँछ । उपाभोक्ताले पनि दैनिक आफ्नो बिल कति उठिरहेको छ भनेर मिटरमै हेर्न सक्छन् । दैनिक कति बिजुली उपयोग भइरहेको छ भन्ने विवरण प्राधिकरणमा पनि आउँछ भने उपभोक्ताले मिटर हेरेरै जानकारी लिन सक्छन् ।

अहिले प्राधिकरणका कर्मचारीहरु बिजुलीको बिल लिएर ग्राहकको घर–घरमा जान्छन् । यो व्यवस्था निकै झन्झटिलो र खर्चिलो छ । यसका लागि हजारौं मिटर रिडरहरु खटाउनुपर्ने अवस्था छ । रिडरहरुलाई पनि घर–घरमा पुगेर मिटर रिड गर्न सजिलो छैन ।

कतिपय मिटर रिडरहरु नै मिटर बिगारेर बिजुली चोरीमा संलग्न हुने पनि पाइन्छ । किनभने हरेक ग्राहकको बिजुली खपत र बिलिङको डाटा पल–पलमा प्राधिकरणको डाटा सेन्टरमै आउँछ । यदि स्मार्ट मिटर सबै ठाउँमा लगाउन सक्ने हो भने प्राधिकरणलाई यति मटिर रिडिङमा जनशक्ति नै चाँहिँदैन । पिक आवरमा लोड म्यानेजमेन्ट पनि सहज बन्छ ।

अनलाईनख़बर

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: