एकछिनको रिसले श्रीमानको हत्या, अन्तिम पटक मुख हेर्दा बेहोस

काठमाडौं । जोरपाटीमा बस्दै आएकी २५ वर्षीया शिला घले साउन २५ गते शनिवार पक्राउ परिन् । आफ्नै श्रीमानको हत्या गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

शिलाले चक्कु प्रहार गरेर आफ्नै श्रीमान २४ वर्षीय जालमान स्याङ्तान तामाङको हत्या गरेकी थिइन् । तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गर्दा जालमानको मृत्यु भएको थियो । मकवानपुर गढी गाउँपालिका–८ कीशिला र उनका श्रीमान गोकर्णेश्वर नगरपालिका पुरानो शान्त भवनमा बस्दै आएका थिए ।

हत्याको कारणः चर्को रिस
१८ महिनाअघि शिला र जालमानले प्रेम विवाह गरेका थिए । सुरूमा शिलाले नै जालमानलाई मायाजालमा पारेकी थिइन् । शिलाकै कारण जालमान प्रेमपछि विवाह गर्न सम्म पुगेका थिए । अन्त्यमा  जसलाई मुटुमा सजाएर राखेका थिए, त्यही व्यक्तिले मुटुमा छुरा रोपेपछि जालमानको प्राण गयो ।

शिला अत्यन्तै रिसाहा स्वभावकी थिइन् । विवाहपछि उनीहरूबीच दिनदिनै झगडा भइरहन्थ्यो । जालमान शिलालाई बारम्बार रिस कम गर्नुपर्छ भनेर सम्झाउँथे । यसरी सम्झाउनु नै अन्ततः उनका लागि काल बन्यो । र,१८ महिने वैवाहिक सम्बन्ध सदाका लागि अन्त्य भयो । शिलाले रिसको आवेगमा आएर आफूले श्रीमानको हत्या गरेको स्वीकार गरेकी छन् ।

उनीहरूको एक ८ महिनाको छोरो छ । शिलाका दाइ नारायण घलेका अनुसार उनीहरूको वैवाहिक जीवन राम्रैसँग बितिरहेको थियो । तर एकछिनको आवेगमा आएकी शिलाको लागि उक्त रिस महँगो साबित भयो ।

जालमान बस चलाउँथे । उनी सधैँजसो रक्सी सेवन गर्थे । दिनभर काम गरेर बेलुका घर आउँदा रक्सी खाएर आउँथे । श्रीमती शिलाको चाहना रक्सी नखाओस् भन्ने थियो । रक्सी छुटाउनका लागि शिलाले गाली गर्दै आएकी थिइन् । कहिले काहीँ त कुटपिट पनि गर्थिन् ।

पटक–पटक हत्या प्रयास:
झगडा हुँदा पनि शिलाले ‘यो लाई त म मारेरै छाड्छु अनि जेल जान्छु’ भन्थिन् । यो घटना हुनुभन्दा केहीदिन अगाडि पनि सामान्य झगडा हुँदा शिलाले चक्कु बोकेर काट्छु भन्दै गएकी थिइन् । त्यही घरमा बस्ने अन्यले देखेपछि उनलाई सम्झाइबुझाइ गरेका थिए । शिलाले ‘यो लाई (जालमान) मारेर म जेल जान्छु ।, त्यहाँबाट छुटेपछि अरू केटाहरूसँग विवाह गर्छु’ भन्थिन् ।

शिलाका छिमेकीहरूका अनुसार उनीजति बेला झगडा पर्दा पनि यस्तै खाले शब्दहरूको प्रयोग गर्थिन् । शिलाको अरूसँग प्रेम सम्बन्ध तथा अवैध सम्बन्ध नरहे पनि उनको रिस भने एकदमै कडा थियो । अन्ततःत्यही रिस श्रीमान हत्याको कारण बन्यो ।

हेर्दाहेर्दा क्षणभरमै श्रीमानमाथि चक्कु प्रहार:
श्रीमान–श्रीमती एक आपसमा लड्न थाले । त्यही घरमा बस्ने एउटी सानी नानीले दुवै जनाबीचको झगडा देखिरहेकी थिइन् । ती नानीले अन्य कोठामा बस्नेहरूलाई भनिन् । त्यत्तिकैमा दुईतीन जना महिलाहरू झगडा छुटाउन आए । जालमानले शिलालाई दुई मुक्का हाने । त्यसपछि रिसले आगो बनेकी शिलाले नजिकै रहेको चक्कु बोकेर आइन् । त्यहाँ रहेका महिलाहरूले जालमानलाई कोठा बाहिर ल्याए । शिलालाई भने ढोकाभित्रै थुनिदिए । तर उनले बल गरेर ढोका खोल्दै जालमानमाथि एकाएक चक्कु प्रहार गरिन् ।

घाँटी र ढाडमा चक्कु प्रहार भएपछि जालमान बेहोस भएर भूईमा लँडे । ढलेपछि पनि शिलाले ‘तैंले मेरो टाउको फुटाएको होइनस्’ भन्दै चक्कु प्रहार गर्न खोज्दै थिइन् । अरूहरूले जालमान त मरिसक्यो हस्पिटल लैजानुपर्‍यो भनेपछि शिला होसमा आइन् र रुन थालिन् । नजिकैको अस्पताल नेपाल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै जालमानको ज्यान गएको थियो ।

अन्तिम पटक मृत श्रीमानको मुख हेर्दा बेहोस:
श्रीमानको हत्या गरेपछि प्रहरीले शिलालाई नियन्त्रणमा लियो । जालमानको बौद्धको जम्मु डाँडामा अन्तिम संस्कार गरियो । जालमानको मुख हेर्न शिलालाई त्यहाँ लगिएको थियो । श्रीमानको शव देखेपछि उनी बेहोस भएर भुइँमा लडिन् । उता जालमानको आमा समेत बेहोस भएकी छन् । उक्त घटनापछि आत्मग्लानिमा रहेकी शिला अहिलेसम्म कसैसँग बोल्न सकेकी छैनन्र ।  श्रीमानको हत्या तथा श्रीमती जेल जाने भएपछि ८ महिने छोराको बिचल्ली हुने भएको छ ।

रिस नियन्त्रण गर्न नसक्दाको परिणाम:
भनिन्छ, रिस अन्धो हुन्छ । मानिसले रिस उठेपछि केही पनि देख्न र सहन सक्दैन । उसको विवेक गुम्छ । यो घटनामा पनि त्यस्तै भयो । शिलाले एकछिनको रिसलाई नियन्त्रण गर्न नसक्दा जालमानको ज्यान गयो । यसरी रिस उठ्यो भन्दैमा आवेगमा आएर कुनै पनि निर्णय गर्नु आफ्नै लागि दुर्भाग्य हुनसक्छ । रिसलाई नियन्त्रण गर्नुनै सबैभन्दा बुद्धिमानी हुन्छ ।

साभार :  केन्द्रबिन्दु डटकम

Leave a Reply

Scroll to Top
%d bloggers like this: