चीन र भारतका खेलाडीलाई पछि पार्दै हाफ म्याराथनमा निमेशले जिते स्वर्ण

नेपाली धावक निमेश गुरुङले चीनमा हाफ म्याराथन र १० किलोमिटर क्रस कन्ट्री विधामा स्वर्ण पदक जितेका छन् ।

चीनमा जारी विश्व पुलिफायर गेम्समा निमेशले आइतबार भएको १० किलोमिटर क्रस कन्ट्रीमा स्वर्ण पदक जितेका हुन् । सिंगापुर गोर्खा पुलिसको नेतृत्व गर्दै उनले चीन र भारतलगायत ६० देशका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भएका हुन् ।

भारतका रविन्द्र सिंह रौटेलाले रजत पदक जिते भने चीनका दाइजुङ फेङले कास्य पदक जिते ।

त्यस्तै, उनले यही प्रतियोगिताको हाफ म्याराथनमा पनि स्वर्ण पदक जितेका छन् । निमेशले निर्धारित दूरी एक घण्टा ९ मिनेट २६ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितेका हुन् । यो विधामा चीनका खेलाडी दोस्रो र रसियाका तेस्रो भए ।

त्यस्तै, २९ वर्षभन्दा मुनि १० किलोमिटर क्रस कन्ट्री विधामा भने सुबास गुरुङले स्वर्ण पदक जितेका छन् ।निमेशले अब १० हजार मिटर विधामा एउटा खेल खेल्न बाँकी रहेको छ । यो विधाको खेल अगष्ट १८ तारिखमा हुदैछ । यो विधामा पनि आफूले स्वर्ण पदक जित्ने लक्ष्य रहेको निमेशले बताएका छन् ।

सिंगापुर गोर्खा पुलिसमा आबद्ध रहेका निमेशले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँदै स्वर्ण पदक जित्दै आएका छन् । उनले गरेको योगदानको कदर गर्दै पुलिस स्पोर्ट्स एसोसिएसनले बेष्ट स्पोर्ट्सम्यान अफ दि इयरको अवार्ड समेत दिएको छ । गत वर्ष पनि उनले होम टिम स्पोर्ट्सम्यानको अवार्ड पाएका थिए ।

साभार अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: