सिपी सखी
तिम्रो बिम्ब र प्रतिक अनुसार
म गमलामा फुलेको एउटा फूल
गमला तिम्रो घर र
त्यो घरभित्र कुजिएका छन्
मेरा स्वप्निल र रहरिला जराहरु
जो विश्व घुम्न चाहान्छन्
जो सफलता चुम्न चाहान्छन् ।
धुवाँ र तिम्रो धुवाँ जस्तै नियतले
काला र अँध्यारा भएका छन्
उज्याला आशाहरु ।
तिम्रो बिम्ब र प्रतिक अनुसार
तिमी यायावर भँवरो
चहार्दै हिड्छौ
स्वच्छन्द, निस्फिक्री फूलका थुङ्गाहरु,
विटुलो पार्छौ फूललाई
र अहङ्कारका साथ भन्छौ – “फूल बिटुलियो”
तर भँवरो कहिल्यै पनि बिटुलिएन ।
किनकी तिम्रो बिम्ब र प्रतिक अनुसार–
भँवरो फूललाई विटुलो पार्न जन्मेको
र फूल
बिटुलिनको लागि
भँवरोका पखेटा छन्, उड्छ
जरा छन्, गाडिन्छ फूल
र त स्थीर र चाल विहिन छ ।
तिम्रो बिम्ब र प्रतिक अनुसार
म जुन तिमी सूर्य
म त्यो जुन !
जो हरेक रात सूर्यको खुसीमा चम्किनु पर्छ
म त्यो जुन
जो पूर्णिमा लाग्दा हाँस्छु
औँशी लाग्दा रुन्छु
जुन रातमा रुन्छ र शीत बन्छ ।
म त्यो जुन
जा रोए पछि सिरानी भिज्छ ।
तिम्रो अनुसार म सधैँ शान्त र शितल हुनुपर्छ
तिमी त्यो सूर्य जो सधैँ आगो जस्तै हुन्छौ
र पुरुष अहङ्कारले जलाईरहन्छौ मलाई
आफ्नै पथमा जवरजस्ती चलाईरहन्छौ मलाई ।
तिमी विष्णु बन्छौ र मलाई वृन्दा बनाउँछौ
लुट्छौ अस्मिता र विधुवा बनाउँछौ
र पनि अन्धो समाजमा पुजिन्छौ ।
आफू बुद्ध बन्छौ र मलाई छोड्छौ
महान कहलिन्छौ दुनियाँको नजरमा
मलाई ईभ बनाउछौ र आफ्नो दुःखको कारण मलाई नै ठान्छौ
एक्लैले गर्न खोज्छौ समस्या निवारण
र आगोले हर समय होलिकालाई मात्रपोल्छ,
मनमा
तनमा
जीवनमा
र भित्रभित्र कता कता दुखेर आउँछ
तप्प…तप्प…तप्प…आँसु रसाउँछ ।
त्यसैले अब म स्विकार्दिन तिमीले चलाएका
तिम्रा बिम्ब र प्रतिकलाई
परिमार्जन गर्न चाहान्छु समय सापेक्ष
म विनिर्माण गर्न चाहान्छु तिम्रो साहित्य र समाज
जहाँ बिम्ब र प्रतिकद्धारा गरिने छैन विभेद
गरिने छैन छेडखानी ।
सल्यान
(हाल ः सामुदायिक विकास परियोजना, संगम म्याग्दीमा कार्यरत)