नेपालको २०२० विश्वकप सपना चकनाचुर, सिंगापुर ग्लोबल टि-२० खेल्न छनौट

सिंगापुरसंग ८२ रनको विशाल अन्तरले पराजित हुँदा नेपालको टि-२० विश्वकप २०२० को यात्रा समाप्त भएको छ। सिंगापुर पहिलो पटक टि-२० विश्वकप छनौट खेल्न छानिएको छ।

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया ) फाइनल अन्तर्गत नेपाल र सिंगापुर बीच अन्तिम खेलको विजेता आगामी अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्ने थियो। तर नेपालले सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याउदा कमजोर ब्याटिंग गर्दै १५ ओभरमा १०९ रनमै सम्पूर्ण विकेट गुमाएपछि नेपालको सपना चकनाचुर हुन पुग्यो।

८२ रनको हार टि-२० अन्तर्राष्ट्रियमा नेपालको दोश्रो ठुलो रन अन्तरको हार हो। यस अघि नेपाल नेदरल्याण्डसंग २०१५ मा १०३ रनले पराजित भएको थियो।

सन् २०१४ मा हंगकंगमा सम्पन्न टि-२० विश्वकप पहिलो पटक खेलेको नेपाली टिमले त्यसपछि २०१६ टि-२० विश्वकपमा पनि छनौट हुन असफल रहेको थियो। लगातार दोश्रो पटक नेपाली टिम टि-२० विश्वकप छनौट हुन असफल रहेको छ।

प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारसंग ४ विकेटको हार बेहोरेको थियो। जसपछि मलेसिया र कुवेतलाई पराजित गर्दा अन्तिम खेल जिते आगामी चरण छनौट हुने समीकरण थियो।

प्रतियोगिताको सम्पूर्ण खेलहरु सकिदा सिंगापुरको ४ खेलमा ३ जित र १ बराबरी अंक सहित ७ अंक रह्यो। कतार ४ अंक सहित दोश्रो र नेपाल ४ अंक भए पनि नेट रन रेटमा कतारसंग पछि पर्दै तेश्रो स्थानमा रह्यो।

साभार – विकेट नेपाल

Leave a Reply

Scroll to Top
%d bloggers like this: