काठमाडौंमा पहिलोपटक चल्ने बिजुली बस हेर्नुस

८ साउन, काठमाडौं । सरकारले साझा यातायातमार्फत ३ सय वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा एउटा निजी कम्पनी भने एक कदम अगाडि बढिसकेको छ । सुन्दर यातायात प्रालिले चीनबाट १८ वटासम्म बिजुली बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोबाइल कम्पनीसँग हालै सम्झौता गर्‍यो ।

सुन्दरले काठमाडौंसहित देशमा मुख्य शहरहरुलाई लक्षित गर्दै चीनको ‘बीएके’ ब्रान्डका विद्युतीय बसहरु भित्र्याउँदै छ । हालै चीन पुगेर कम्पनीको टोलीले थप ११ वटा विद्युतीय बस भित्र्याउने गरी समझदारी गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

कम्पनीले यसअघि ७ वटा बस नेपाल ल्याउन कम्पनीसँग समझदारी गरिसकेको थियो । त्यसमध्ये २ वटा बस नेपालका लागि हिँडिसकेको छ । तत्कालै २५ वटा बिजुली बस ल्याउने योजनामा कम्पनी छ ।

ट्रली बसपछि काठमाडौंमा पहिलोपटक साझाले सार्वजनिक प्रयोजनमा बिजुली बस चलाउन रिंगरोड लगायतका सडकमा रुट मागेको छ ।

यो बस एक करोड ६२ लाख मूल्यको हो ।

सरकारले साझामार्फत विद्युतीय बस ल्याउनुभन्दा अगाडि नै सुन्दर यातायातले काठमाडौंमा आफ्नै बस गुडाइसक्ने लक्ष्य लिएको छ । थापा नेपालमा विद्युतीय बसकको युग सुरुआत गर्न आफूहरु आतुर रहेको बताउँछन् । सुन्दरले विद्युतीय बस चलाएर हासिल गर्ने अनुभव सरकार र अन्य यातायात कम्पनीका लागि पनि उपयोगी हुने थापाको विश्वास छ ।

सुन्दरले भित्र्याउने विद्युतीय बस र्‍याङ्किङमा टप १० भित्र रहेको कम्पनीको दावी छ । यो कम्पनीले झण्डै ५० लाख युनिट बस बेचिसकेको छ ।

कम्पनीमा तयार भएका बसहरु नेपाल पठाउने क्रम पनि सुरु भएको छ । अबको एक महिनापछि सुन्दरका थप विद्युतीय बसहरु धमाधम काठमाडौं आइपुग्न थाल्नेछन् ।

सडक हेरेर छुट्टै डिजाइन

हाल नेपाल आउने बसहरु चीनको सिचुवान प्रान्तस्थित लसान नगरमा अवस्थित कम्पनीमा बनिरहेको छ । हालै साउदी अरेबियालाई ३ सय बिजुली बस बेचेको कम्पनीले नेपाली बाटो सुहाउँदो हुनेगरी बस तयार गरेको छ ।

बीएके कम्पनीका बसको चिनियाँ सडकमा बाहुल्यता छ । त्यहाँका सरकारी कम्पनीहरुले यस कम्पनीका बसहरु प्राथमिकतामा राखेर चलाइरहेका छन् । चीनमा मात्रै बीएकेका बसहरुको बजार हिस्सा ७० प्रतिशत रहेको दावी कम्पनीको छ ।

सुन्दर यातायातले चिनियाँ प्राविधिकलाई नेपालमै ल्याएर नेपाली सडकको अवस्था अध्ययन गराउँदै बसको डिजाइन गराएको थियो । त्यही स्वीकृत डिजाइन अनुरुप राम्रो ‘ग्राउन्ड क्लेयरेन्स’ राखेर बस निर्माण भइरहेको छ ।

चीनमा हाल प्रयोग भइरहेका बसहरुको ग्राउन्ड क्लेयरेन्स कम हुन्छन्, किनकि त्यहाँ सडकको अवस्था निकै राम्रो छ । तर, नेपालमा त्यही बस ल्याउँदा गुडाउन समस्या हुने भएपछि नेपालका लागि छुट्टै प्राविधिक डिजाइन गरिएको हो ।

खाल्डाखुल्डीमा अगाडि नठोक्कियोस् भनेर नेपाल आउने बसलाई छुट्टै तवरले डिजाइन गरिएको छ । काठमाडौंमा गुडिरहेका बसहरुभन्दा फरक लाग्ने यी बसका पछाडिको भागलाई पनि खाल्डाखुल्डी युक्त सडकमा जान सकिने गरी बनाइएको छ ।

शहरी रुटका लागि उपयोगी

बसको अगाडि डिजिटल डिस्प्ले जोडिएको छ । बाहिरबाट हेर्दा बस आकर्षक छ नै, बसभित्र पनि नेपाली यात्रु सुहाँउदो गरी सिट व्यवस्थापन गरिएको छ ।

सुन्दरले ४० सिट क्षमतासम्मका बस नेपाल ल्याउन लागेको हो । कम्पनीले फरक-फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बसहरु ल्याउने छ । यसमा १०.५ मिटर, ८.५ मिटर र ७.५ मिटरका बसहरु छन् । यी बसहरु काठमाडौंको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाउन सकिने अध्यक्ष थापा बताउँछन् । कम्पनीले यी बस चलाउन रुट इजाजत लिने प्रक्रिया पनि थालिसकेको छ ।

अध्यक्ष थापाकाअनुसार यी बसहरु नेपाली सडकको अवस्था हेरेर नै डिजाइन गरिएकाले शहरभित्र सार्वजनिक यातायातको प्रयोजनका लागि निकै उपयोगी हुनेछन् ।

सुपर चार्ज सुविधा

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । काठमाडौंमा लामो समय बस एकै स्थानमा ‘होल्ड’ गरेर चार्ज गर्न नसकिने अवस्था भएकाले कम्पनीले सुपर फास्ट चार्जिङ मेसिन पनि ल्याउन लागेको छ । हाल कम्पनीसँग २ घन्टामा फूल चार्ज गर्न सक्ने चार्जिङ मेसिन आईसकेको छ ।

‘काठमाडौंमा चार्जिङ स्टेशनका लागि धेरै जग्गा उपलब्ध हुन सक्दैन, त्यसैले जतिसक्दो छिटो चार्ज हुने र एउटै मेसिनबाट फरक-फरक गाडीमा पनि चार्ज गर्न सकिने प्रविधि चिनियाँ कम्पनीले नेपालकै लागि विकास गर्दैछन्,’ उनले भने, ‘त्यसमा हाम्रा प्राविधिहरुले पनि सघाइरहनुभएको  छ । यस्तो आधुनिक मेसिन ल्याएपछि बीएकेका बसहरु काठमाडौंमा चलाउन अझ बढी प्रभावकारी हुन्छ ।’

सिट व्यवस्थापन

सुन्दरले ल्याउन लागेका बसको भित्री भाग फरक किसिमको छ । यी बसका पछाडिका भागहरुमा सिटहरु धेरै छन् । पछाडिको भागलाई महत्व दिँदै सिट व्यवस्थापन गरिएको छ ।

‘अहिले यात्रुहरु सकेसम्म अगाडिको भागमा बस्न खोज्छन्, तर, हाम्रो बसहरुमा अगाडि बसेरभन्दा पछाडि बसेर यात्र गर्नु बढी रोमाञ्चक हुन्छ, ‘ अध्यक्ष थापा भन्छन्, ‘बीचका भागमा आरक्षण सिटहरुसहित प्रशस्त स्पेस छ । शहरभित्र उभिएर यात्रा गर्न पनि सकस हुँदैन ।’

४० सिटको बसमा थप ३० भन्दा बढी यात्रुहरुले उभिएर यात्रा गर्न सक्छन् । उभिने यात्रुका लागि ह्याङ्गरहरु राखिएका छन् । बसमा आरक्षण सिटहरुलाई बेग्लै रंग दिइएको छ ।

यी बसहरुमा एयरकन्डिसनरको पनि सुविधा छ । ४० सिटका बसको छततर्फको भागमा ३ स्थानमा एसी जोडिएका छन् । शहरी सार्वजनिक बसमा एसी सुविधायुक्त सुन्दर यातायात पहिलो हुनेछ ।

यसैगरी यी बसहरुमा अपांगता भएका व्यक्तिले सजिलै चढेर यात्रा गर्न सक्छन् । अटोमेटिक डोर लक/अनलक सुविधा सहितका यी बसमा यात्रु उक्लिन ठूलो खालको ढोका पनि छ । काठमाडौंमा बस चढ्न ठेलमठेल गर्नुपर्ने अवस्थालाई यसले कम गराउनेछ । बसभित्रै कम्पनीकै सेट भएका डस्टिविन छन् ।

स्मार्ट पेमेन्ट सिस्टम

सँगै यो बसमा यात्र गर्नेले स्मार्ट यात्रा कार्डमार्फत भाडा भुक्तानी गर्न पाउनेछन् । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ ।

बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । जसमा यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् ।

बसको भित्री बनोट पनि मजबुत तवरको रहेको कम्पनीका अध्यक्ष थापा बताउँछन् । आधुनिक ‘सस्पेन्सन सिस्टम’ सहितको यो बसमा यात्रा गर्न आरामदायी पनि हुने उनले बताए ।

विद्युतीय बस वातावरणमैत्री हुन्छन् । साथै यी बसहरुले डिजेल गाडीले जस्तो चर्को ध्वनी निकाल्दैननन् ।

आफ्ना विद्युतीय बसहरु उकालो सडकमा पनि सजिलै चल्न सक्ने बीएके कम्पनीको दावी छ । काठमाडौंको सडकलाई ध्यानमा राखेर कम्पनीले चीन पुगेका बेला त्यहाँको उकालो सडककै त्यसको परीक्षण गरेको थियो । परिक्षण सफल भएको र त्यसले बसप्रतिको विश्वास अझ बढेको अध्यक्ष थापाले बताए ।

सञ्चालन खर्च न्यून

बीएकेका विद्युतीय बहरुको सञ्चालन खर्च पनि निकै सस्तो हुनेछ । हाल काठमाडौंमा चलिरहेका डिजेलबाट चल्ने लामो प्रकारका गाडीहरुले प्रति ३ देखि ५ किलोमिटर दूरी पार गर्दा १२० रुपैयाँ खर्चन्छन् ।

तर, विद्युतीय बसको सञ्चालन खर्च त्योभन्दा निकै कम छ । प्रत्येक ५ किलोमिटरमा बीएके कम्पनीको सञ्चालन खर्च २० रुपैयाँ मात्रै पर्ने अध्यक्ष थापा बनाउँछन् । ३ देखि ५ किलोमिटर चल्दा विद्युतीय बसले डिजेलको भन्दा १०० रुपैयाँ कम खर्च गर्ने उनको भनाइ छ । विद्युतीय गाडीहरुमा डिजेल गाडीको भन्दा कम प्राविधिक समस्या देखिने भएकाले मर्मत खर्च पनि धेरै बचत हुने सुन्दर यातायात बताउँछ ।

यसैकारण कम्पनीले बसको भाडादर हालको भन्दा सस्तो गर्न सरकारसँग प्रस्ताव गरेको छ ।

यी बसहरु किन्दा भने डिजेल गाडीभन्दा महंगो नै पर्छ । तर, सञ्चालन खर्च कम भएकाले लगानी उठाउन ठूलो समस्या नपर्ने कम्पनीको विश्वास छ । डिजेल बसको आयु २० वर्ष तोकिए पनि विद्युतीय बसको आयु नै नहुने भएकाले कालान्तरसम्म यसमार्फत सेवा दिन सकिने छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: