घर फर्किँदै गरेका तीन छात्रा माईखोलामा बेपत्ता

माईखोलाले बगाएर माई नगरपालिका-१ का तीन विद्यार्थी शनिबार बेपत्ता भएका छन्। माई नगरपालिका-६ को भगवती माविमा अध्ययनरत् छात्राहरु आकृति लिम्बू (१५), निशा सुनुवार (१४) र सुनिता लिम्बू (१२) बेपत्ता भएको झापा प्रहरीले जनायो।

शुक्रबार बर्खे बिदा भएपछि उनीहरु शनिबार घर फर्किँदै थिए। घर फर्किने क्रममा इलामको देउमाई र माई नगरपालिकाको खत्रपा भन्ने ठाउँमा खोलो तर्ने क्रममा उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ।

स्कुल टाढा भएका कारण वडा नम्बर छ मा डेरा गरी बस्दै पढिरहेका थिए। उनीहरुसँगै आएका तीन जना छात्र भने पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ।

दिउँसो साढे तीन बजेदेखि हराइरहेका उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। वर्षा जारी नै रहेका कारण खोजीमा कठिनाइ भएको बताइएको छ।

यता, शिवसताक्षी नगरपालिका-१० का सौगात चापागाइँको डुबेर मृत्यु भएको छ। हवल्दार चोक नजिकको दहमा डुबेर उनको मृत्यु भएको झिलझिले प्रहरीले जनायो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: