भारतमा आफ्नै प्रान्त स्थापना गरेको आइएसको दाबी

अन्तर्राष्ट्रिय आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)ले पहिलो पटक भारतमा आफ्नो छुट्टै प्रान्त स्थापना गरेको दाबी गरेको छ। लामो समयदेखि द्वन्दग्रस्त कास्मिरमा लडाकु समूह र भारतीय सुरक्षा फौजबीच भएको झडपमा आइएससँग सम्बन्ध रहेको भनिएका लडाकुको मृत्यु भएपछि उसको यस्तो दाबी आएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

आइएसको समाचार एजेन्सी ‘अमाक’मार्फत उसले शुक्रबार भारतमा नयाँ प्रान्त स्थापना गरेको र सो प्रान्तको नाम ‘विलायाह अफ हिन्द’ राखिएको जनाएको छ। आइएसले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै अमाकले जनाएअनुसार कास्मिरको सोपियान जिल्लाको अम्सिफोरा सहरमा आइएसले भारतीय सेनामा थुप्रै क्षति पु¥याएको दाबी पनि गरिएको छ।

भारतीय प्रहरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सोपियान जिल्लामा इस्फाक अहमद सोफी नामक एक लडाकु प्रहरीसँगको इन्काउन्टरमा मारिएको दाबी गरेको थियो। भारतीय प्रहरीको विज्ञप्तिको प्रतिक्रियास्वरुप आइएसको यस्तो विज्ञप्ति आएको हुनसक्ने रोयटर्सले उल्लेख गरेको छ।

इराक र सिरियाबाट गत अप्रिलमा तथाकथित आफ्नै शैलीको ‘क्यालिफेट’ पतनभएपछि आइएसले भारतमा नयाँ प्रान्त स्थापना गरेको दाबी गरेर आफ्नो उपस्थिति अझै रहेको सन्देश दिएको हुनसक्ने विश्लेषकहरुले बताएका छन्। आइएसले कुनैबेला इराक र सिरियाका भूभाग समेटेर आफ्नै राज्य स्थापना गरेको घोषणा गर्दै आफ्नै शैलीको शासन चलाएका थिए।

आफ्नो आधार इलाकाबाट परास्त भएपछि पछिल्लो समय आइएसले ‘हिट एन्ड रन’ र आत्मघाती आक्रमणको रणनीति अपनाइरहेको छ। जसको पछिल्लो उदाहरण दुई सय ४३ जनाको ज्यान जाने गरी श्रीलंकामा गराइएको इस्टर सन्डे बम आक्रमणको जिम्मेवारी लिएसँगै बाहिरिएको छ। आइएसले यसअघि सञ्चालन गरेको शासनसँग केही मेल नखाने क्षेत्रमा आफ्नो छुट्टै प्रान्त स्थापना गरेको घोषणा गर्नुको केही अर्थ नभएको तर यसलाई गम्भिरताका साथ लिनुपर्ने इस्लामिक अतिवादीहरुको पहिचान गर्ने समूह एसआइटिई इन्टेलको निर्देशक रिता काट्जलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ।

‘आइएसको पछिल्लो घोषणाले विश्वको ध्यान खिच्न सक्छ तर यस्तो अप्ठेरो क्षेत्रमा क्यालिफेटको नक्सा पुनः निर्माण गर्नुको पछाडि त्यति धेरै महत्व भने छैन,’ उनले बताए। भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका सोफी आइएसमा समाहित हुनुपूर्व एक दशकदेखि कास्मिरका रहेको विभिन्न लडाकु समूहसँग आबद्ध रहेको भारतीय सैन्य अधिकारीले शनिबार जानकारी दिएका छन्। श्रीनगर आधारित एक अखबारलाई सोफी आफैंले दिएको अन्तर्वार्तामा पनि आफ्नो सदाशयता आइएसप्रति रहेको बताइएको छ।

कास्मिर क्षेत्रमा भारतीय सुरक्षा फौजमाथि भएका कैयौं ग्रिनेड आक्रमणमा सोफीको संलग्नता रहेको भारतीय प्रहरी र सेनाले आशंका गर्दै आएका छन्। ‘खोजी अपरेसन एकदमै निष्पक्ष थियो र दोहोरो गोली हानाहानका क्रममा सरकारी फौजप्रति कुनै क्षति भएको छैन,’ शुक्रबारको इन्काउन्टरबारे प्रष्ट पार्दै प्रहरी प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सैन्य स्रोतले भने कास्मिर क्षेत्रमा आइएससँग सम्बन्धित लडाकुमा सोफी मात्रै बाँकी रहेको हुनसक्ने अनुमान गरेको रोयटर्सले उल्लेख गरेको छ। शुक्रबारको इन्काउन्टर र आइएसको दाबीबारे भारतीय गृह मन्त्रालयले भने तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: