काठमाडौं लभ स्टेसन

काठमाडौं : प्रदीप खड्का र जसिता गुरुङ अभिनीत फिल्म लभ स्टेसनको अहिले काठमाडौंमा छायांकन भइरहेको छ । दुई गीतबाहेक बाँकी छायांकन तिहारअघि नै सकिने निर्माण टिमले जनाएको छ । दार्जिलिङ, कालिङपोङ, खर्साङ, मिरिकमा ६० प्रतिशत छायांकन सकेर दसैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाइमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र  श्रीअन्तुमा २० प्रतिशत छायांकन सकेपछि ‘लभ स्टेसन’ युनिट दुई दिनअघि काठमाडौं आएको हो ।

तिहारसम्म काठमाडौंमा छायांकन गर्ने निर्माता गोविन्द शाहीले बताए । १२ असोजबाट दार्जिलिङदेखि छायांकन सुरु गरिएको थियो ।

‘हामीले लक्ष्मीपूजासम्म ९० प्रतिशत छायांकन सक्दैछौं । तिहारपछि एउटा गीत मनाङमा र एउटा गीत जापानमा खिच्दैछौं’, निर्माता शाहीले भने, ‘हामीले तोकेको निर्धारित ४५ दिनभित्रै सम्पूर्ण छायांकन सम्पन्न हुँदैछ । लभ स्टेसन यो वर्षको अन्तिमसम्ममा देशव्यापी रिलिज गर्नेछौं ।’

यो फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार लभ स्टेसन सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म हो । ‘लभ स्टेसन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

यस्तै अभिनेता प्रदीपले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतका फिल्मभन्दा लभ स्टेसन केही पृथक् बन्ने बताएका छन् । अहिलेसम्मको काम प्रशंसनीय भएको यी अभिनेताको भनाइ छ ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेसनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेसनमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: