केपी ओलीले दम्भ र अहंकार त्याग्नुपर्छ, समस्या हल हुन्छ: नेता नेपाल

चितवन, वैशाख १३ । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेता कार्यकताको भावना र आवश्यकतालाई केपी ओलीले सम्वोधन नगर्दा कर्णालीमा फ्लोरक्रस भएको बताउनुभएको छ ।

नेतृत्वमा रहनेले नेता कार्यकर्ताको भावना, आवश्यकतालाई सुन्नै नचाहाने बुझ्नै नखोज्ने दम्भले झन् झन् संकट आइपरेको उहाँको भनाई थियो । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले केपी ओलीले दम्भ र अहंकार छोड्नुपर्ने बताउँदै पछिल्ला प्रत्येक दिनहरुमा आउने अभिव्यक्तिमा दम्भ मिसिएकाले यसले थप समस्या मात्रै दिने समाधान नदिने उहाँको भनाई थियो ।

ह्वीप उल्लघंन गर्नेहरुलाई गरिएको कारवाहीवारे बताउँदै नेता नेपालले प्राविधिक पक्षबाट ठिक जस्तो देखिएपनि समस्याको गहिराइमा पुगेर कारण पत्ता नलगाई गरिने यस्ता निर्णयले थप संकट मात्रै पैदा हुने बताउनुभयो । नेता कार्यकर्ता असन्तुष्ट छन् भन्ने घण्टी कर्णालीबाट आएको भन्दै लोकतन्त्रमा दम्भ अहंकारले कुनै निकास नदिने भन्दै सच्चिन केपी शर्मा ओलीलाई सुझाव दिनुभयो ।

कारवाही मात्रै समाधान हो भन्ने सोचियो भने त्यसले गम्भिर दुर्घटना गराउने भन्दै नेपालले फागुन २३ को निर्णय सच्चियो र २०७५ जेठ २ गतेमा केपी शर्मा ओली फर्कनु भए पार्टी थप बलियो बन्ने र एकता मजवुत हुने नेपालको भनाई थियो । आफूहरुले कुनै पनि पार्टी नखोलेको र नेता कार्यकर्तालाई नेकपा एमालेबाट वाहिर जान पनि नदिने दावी गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: