नागढुंगा सुरुङमार्ग निर्माणको नौ प्रतिशत सकियो

फागुन २७ । देशकै चर्चित नागढुंगा सिस्नेखोला सुरुङमार्ग निर्माणको ९ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम १४ महिनामा सक्ने लक्ष्य राखिएको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ ।
अहिले सुरुङमा शनिबार बाहेक चौबीसै घण्टा काम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो । पूर्वतर्फबाट मुख्य सुरुङको ४९ मिटर र पश्चिमतर्फबाट १४९ मिटर खनिसकिएको आयोजनाले जनाएको छ । आपत्कालीन प्रयोगका लागि बनाइएको सुरुङ ४५ मिटर खनिएको छ । आयोजनाले सुरुङ खन्नका लागि १६ महिना लाग्ने गरी तालिका बनाएको थियो ।

निर्माणस्थलमा अहिले नेपाली र जापानी जनशक्ति कार्यरत छ । नेपाली इञ्जिनीयर झण्डै ९० र परामर्शदाता कम्पनीका तीन जना छन् । निर्माण कम्पनीका २४ प्राविधिक जनशक्ति त्यहाँ कार्यरत छन् । अदक्ष जनशक्तिमा भने सबै नेपाली नै छन् । अहिले झण्डै ३५० कामदार कार्यरत छन् । सडक विभागका १४ प्राविधिक जनशक्ति निर्माणस्थलमा रहेको प्रमुख शाक्यले जानकारी दिनुभयो ।

गत वर्ष असोजमा कम्पनीले सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । जापान सरकारको ‘सफ्ट लोन’मा सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एक सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तरराष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा दुइटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुनेछ । कमजोर ढुङ्गामाटालाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क र तरकारी सङ्कलन केन्द्रलगायत कक्ष हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनीबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना छ । हाज्माआङ्दो कर्पोरेशन र विभागबीच गत वर्ष असोजमा सम्झौता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिक ५ गते त्यसको उद्घाटन गरेका थिए । त्यसको केही समयपछि नै निर्माण शुरु भएको थियो ।

राससको सहयोगमा

Leave a Reply

Scroll to Top
%d bloggers like this: