प्रतिपक्षको नाराबाजीपछि संसद बैठक फागुन २६ सम्मका लागि स्थगित

फागुन २३ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस लगायतको नाराबाजी पछि संसद पुनस्थापनापछि बसेको पहिलो प्रतिनिधि सभा बैठक फागुन २६ गते दिउसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

आज सुरु बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो । प्रतिपक्ष दलका सांसदहरुको नाराबाजीका बीच सभामुख अग्नी प्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गर्नुभयो । त्यसपछि सूचना टाँस गरेर फागुन २६ गतेसम्मका लागि बैठक स्थगित भएको हो ।

आइतबारको संसद बैठक नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेको थियो भने कांग्रेस र जसपाले संसद नभएका बेला सरकारले ल्याएका अध्यादेश पेश गर्ने विषयमा असहमति जनाउँदै नाराबाजी गर्दै अवरुद्ध गरेको हो ।

संसद सचिवालयले आइतबारको बैठकको कार्यसूचीमा वर्तमान र पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव गर्ने विषय समेत उल्लेख गरेको थियो ।

प्रचण्ड माधव समूहका सांसद भीम रावलले शोक प्रस्ताव पारित हुने दिन अन्य विषय कार्यसूचीमा राख्न नहुने बताएका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेशहरु संसद बैठक बसेकै दिन पेश गर्नुपर्ने कानुनी प्रावधान रहेको भनी बचाउ गरेपछि प्रचण्ड माधव समूहका सांसदले प्रतिनिधिसभा बैठकस्थल छाडेका थिए ।

त्यसपछि नेपाली कांग्रेसका सांसदहरुले पनि उठेर विरोध जनाउँदै नाराबाजी गरेका थिए । संसद आइसक्दा पनि अध्यादेश पेश भएको भन्दै त्यो रोक्न र सरकारलाई फिर्ता लैजान माग गर्दै उनीहरुले नाराबाजी गरेका थिए ।

 

Photo: Onlinekhabar.com

Leave a Reply

Scroll to Top
%d bloggers like this: