भरतपुर महानगर प्रमुख दाहालद्वारा बाल उद्यानको शिलान्यास

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर ११ नवजागृति सामुदायिक वनमा बाल उद्यानको शिलान्यास गर्नुभएको छ। भरतपुर महानगरको ३० लाख बजेटमा बाल उद्यान निर्माण थालिएको हो ।

महानगरले एक वडा एक पार्क निर्माण गर्ने लक्ष्य राखे अनुसार भरतपुर महानगर ११ मा पनि नगरस्तरीय ईको पार्क निर्माण थालिएको र सुरुको चरणमा बाल उद्यानको शिलान्यास गरिएको महानगर प्रमुख दाहालले बताउनुभयो । महानगरले अहिले ६ वटा वडामा करोडौँ बजेटका नगरस्तरीय पार्कको काम थालनी गरिसकेको उहाँको भनाई छ ।

बाल उद्यानका लागि अहिले ३० लाख बजेट बिनियोजन भएको र आगामी दिनमा महानगरबाट थप बजेट बिनियोजन गर्ने र केन्द्र सरकारबाट पनि बजेट ल्याउन पहल गर्ने मेयर दाहालले भरतपुर महानगरमा ब्यापक रुपमा बिकासका कामहरु भएको दावी गर्नुभयो ।

गोन्द्राङ पुलचोक सडक, भरतपुरहुँदै जगतपुर, शुक्रनगर, मेघौली सडक, सबै महानगरको प्रयास र प्रयत्नबाट सफल भएको उहाँको दाबी छ ।

कार्यक्रममा बोल्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले भरतपुर महानगर देशकै नमुना महानगरका रुपमा अगाडि बढेको र भरतपुर महानगरको बिकासबाट अरु महानगरले पाठ सिक्नु पर्ने उहाँको भनाई छ । शिक्षा स्वास्थ्य सरसफाई पूर्वाधार निर्माण सबै क्षेत्रमा भरतपुर महानगरले नमुना काम गरेको बताउनुभयो ।

सामुदायिक वन परिसरमा वनको समेत आर्थिक सहभागितामा ३७ लाख ८५ हजार ६३२ रुपैयाँको लागतमा उद्यान निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिनुभयो । ३० लाख महानगरले हाल्ने र बाँकी ७ लाख ८५ हजार ६३२ रुपैयाँ सामुदायिक वनले लगानी गर्ने गरी महानगरसंग सम्झौता भएकोे उहाँको भनाई छ ।

माघ ९ गते सम्झौता भई २०७८ असार २५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको र यसबाट करिब ४५ हजार जनसंख्या लाभान्वित हुने उहााको भनाई छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: