जसरी तोकिएकै मितिमा चुनाव हुन्छ : प्रधानमन्त्री ओली

माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमा चुनाव हुने बताउनुभएको छ । चुनावको तयारीमा निर्वाचन आयोग जुटिसकेकाले एक दिन पनि तलमाथि नसर्ने बताउनुभयो ।

धनुषाको मिथिला नगरपालिका ७ को ढल्केबरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी सबस्टेशन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको २२०÷१३२ केभी सबस्टेशन उद्घघाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ मा वैशाख १७ गते नै चुनाव हुने भएकाले चुनावको तयारीमा लाग्न आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले तराई–मधेशमा केही समूहले आफूलाई मधेशविरोधी भनेर प्रचार गरिएकोमा पनि आपत्ति व्यक्त गर्नुभयो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले ढल्केबर सबस्टेशन अहिले सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो भएको जानकारी दिनुभयो । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केबरमा चार्ज हुनेछ ।

प्राधिकरणले सुख्खायाममा नेपालमा विद्युत् उत्पादन कम भएका अवस्थामा ढल्केबर स्टेशनमार्फत थप १०० मेगावाट विद्युत् ल्याउन सहज हुने बताएको छ । सात सय मेगावाटसम्म भारतबाट आयात गरिँदै आएकामा आवश्यक परे आठ सय मेगावाटसम्म विद्युत् आयात गर्न सकिने छ । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताबमोजिम थप बिजुलीसमेत आयात गर्न सकिन्छ । यस्तै ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: