अर्को महिनाबाट सुक्खा बन्दरगाह निर्माण थालिने

रसुवा — रसुवाको टिमुरेमा अक्टोबरबाट सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ । द आर्किटेक्चरल रिकोनाइसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुक्खा बन्दरगाहको लागत स्टिमेटसहितको फाइनल डिजाइन तयार गरिसकेको छ ।
उक्त कम्पनीले फाइनल डिजाइन एक महिना अगाडि टिबेट डिर्पाटमेन्ट अफ कमर्सलाई बुझाएको थियो । फाइनल डिजाइन तयार गर्नका लागि नेपाल सरकार र चीन सरकारबीच सन् २०१८ जनवरी १५ मा हस्ताक्षर भएको थियो ।

चीनको छेन्दुमा भएको सहमति पत्रमा नेपाल सरकारको तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले हस्ताक्षर गरेका थिए । ‘अक्टोबरसम्ममा बन्दरगाह निर्माणका लागि कम्पनी छनोट गरी काम सुरु गर्ने कुरा चिनियाँ अधिकारीहरूले बताएका छन्,’ बस्नेतले भने ।

चीनसँगको व्यापार सहजीकरण गर्नका लागि रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण हुन लागेको हो । टिमुरेमा बन्ने सुक्खा बन्दरगाह अन्तर्राष्ट्रियस्तरको हुनेछ । सुक्खा बन्दरगाह रसुवागढी नाकाबाट साढे दुई किलोमिटरवर टिमुरेमा निर्माण हुनेछ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग हुनेछ ।

नेपाल र चीनबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो । भूकम्पलगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनले केरुङको विकासलाई बढी प्राथमिकता दिँदै आएको छ ।

बन्दरगाह ८.५ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधाणको ३.५ हेक्टर जमिन अधिग्रहण गरी जग्गाको व्यवस्थापन भइसकेको छ । जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासनमार्फत करिब ४८ करोड भुक्तानी भइसकेको छ ।

बन्दरगाहमा ५ हजार २ सय स्क्वायर वर्गमिटरको सुविधा सम्पन्न मुख्य भवन हुनेछ । भवनमा भन्सारका लागि अफिस र क्वाटरसहितको सुविधा हुनेछ । त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षालगायतका कार्यालयहरू रहनेछन् ।

बन्दरगाहमा ३ सय ५० भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने पार्किङ स्थल निर्माण हुने नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर प्रमोद आचार्यले बताए । ७ सय ५० स्क्वायर वर्ग मिटरको क्षेत्रफलमा गोदाम घर निर्माण हुनेछ । २ हजार २ सय स्क्वायर वर्गमिटरको सेड निर्माण हुनेछ । सामान जाँचपास टर्मिनल, चेकपोस्टलगायत आधारभूत संरचना निर्माण हुनेछ ।

रसुवागढी नाका हुँदै चीनबाट आयात हुने वस्तु यसै बन्दरगाहमार्फत नेपाल भित्रिनेछ । भन्सार, अध्यागमनलगायतका कामसमेत सुक्खा बन्दरगाहबाट हुनेछ । चीनले आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गर्ने बताएको छ । चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी करिब ४ सय ५० किमि छ । चीनले सन् २०२३ सम्म केरुङलाई रेल सञ्जालबाट जोड्ने लक्ष्य राखेको छ ।

पछिल्लो समय चीनसँग स्थल मार्गबाट यही नाका हुँदै व्यापार भइरहेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको व्यावसायिक महत्त्व बढदै गएको छ । रेलबाट ल्याएको सामानलाई सिधै ट्रकमा लोड गरी सुक्खा बन्दरगाहमा ल्याएर आवश्यक प्रक्रिया पूरा गर्न सजिलो हुनेछ । रसुवागढी नाकाबाट स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुँदै दक्षिण एसिया जोड्ने सबैभन्दा छोटो रुटको सडक हुनेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: