‘मेडिकल ड्रोन’को आविष्कार अन्तिम चरणमा

म्याग्दी : राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गर्न लागेको ‘मेडिकल ड्रोन’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सामाजिक अभियन्ता महावीर पुनले तिहारलगत्तै राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका नेपाली ड्रोन औषधि बोकेर नेपालका गाउँगाउँमा पुग्ने थाहा खबर डट कमलाई टोलीफोन मार्फत जानकारी दिएका छन्।

म्याग्दीको विकट ठाउँमा जन्मेर अमेरिकाबाट उच्च शिक्षा प्राप्त गरेका पुन अहिले राष्ट्रिय आविष्कार केन्द्रमार्फत विज्ञान तथा प्रविधिको क्षेत्रमा व्यस्त छन्। एसियाको नोबेल पुरस्कारको रूपमा लिइने म्यागासेसे पुरस्कार विजेता पुनले काठमाडौं, चितवन, धरान, जनकपुर र पोखरामा अनुसन्धानको काम भइरहेको बताए। आविष्कार केन्द्रले अहिले कृषि, इन्जिनियरिङ, शिक्षा, बायोमेडिकल, पर्यटनलगायतका १६ क्षेत्रमा अनुसन्धान तथा परीक्षण गरिरहेको उनको भनाइ छ। पुनका अनुसार मेडिकल ड्रोनको आविष्कार अन्तिम चरणमा पुगेको छ।

मेडिकल ड्रोनले नेपालका भौगोलिक हिसाबले विकट स्थानमा रहेका हेल्प पोस्टहरुमा स्वचालित मानवरहित प्रविधिको माध्यमबाट औषधि पुर्‍याउने काम गर्नेछ। नेपालमा मेडिकल ड्रोनको आविष्कारले अन्तर्राष्ट्रिय ध्यानसमेत खिच्ने सरोकारवालाले बताए।

विगत दुई वर्षदेखि ‘मेडिकल ड्रोन’को आविष्कारमा लागेका पुनले ‘मेडिकल ड्रोन’को ८० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको जानकारी दिए। ‘२०७४ सालमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा औषधि बोकाएर ड्रोन पठाएका थियौँ। त्यो हाम्रो परीक्षण थियो। त्यसपछि पनि विभिन्न ठाउँमा उडान गर्‍यौँ’ पुनले भने, ‘त्यस क्रममा देखिएका कमी–कमजोरीलाई सच्याउने काम भइरहेको छ। तिहारपछि नेपालका विकट गाउँमा औषधि बोकेर ‘मेडिकल ड्रोन’ पुग्ने छन्।’

पुनका अनुसार कीर्तिपुरमा पटक–पटक परीक्षण उडान भइरहेका छन्। आठवटा पंखा र दुईवटा पखेटा भएको जहाजजस्तै उड्ने मेडिकल ड्रोन आविष्कार केन्द्रको रिसर्च ल्याबमा उड्नका लागि केही समयमै तयार हुने उनको भनाइ रहेको छ।

पुनका अनुसार अहिले १६ वटा ड्रोन बनाउने काम भइरहेको छ। ती  ड्रोनहरू फरक–फरक किसिमका छन्। म्याग्दीमा उडेको ड्रोन पहिलो भर्सनको थियो। अहिले ड्रोनको तेस्रो भर्सनमा काम भइरहेको उनको भनाइ रहेको छ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: