यस वर्षको संविधान दिवस राष्ट्रिय झण्डामय

काठमाण्डौ – बिहीबारदेखि संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम सुरु भएको छ । मुख्य कार्यक्रम ३ गते शुक्रबार भए पनि बिहीबारदेखि नै संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाउन सरकारले आह्वान गरेको छ ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ । ‘नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमासमेत मनाउने निर्णय गरेको थियो । यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज, भोलि र पर्सि घरघरमा राष्ट्रिय झण्डा फहराउन सरकारले आह्वान गरेको छ ।

विश्वमै आफ्नो बेग्लै पहिचान बोकेको नेपाली राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धमा गृह मन्त्रालयले कुन आकारको झण्डा कहाँ प्रयोग गर्ने भन्नेबारे कार्यविधि सार्वजनिक गरेको छ । नेपाली नागरिकको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा नागरिकका प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष महत्व दिइएको हो ।

असोज २ देखि ४ गतेसम्म हुने मुख्य कार्यक्रममा सरसफाइ, विभिन्न प्रचारात्मक कार्यक्रम तथा दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन हुनेछ । मुख्य दिन असोज ३ गते भने सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरिनेछ ।

यस्तै विदेशस्थित राजदूतावासमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने तथा प्रदेश र स्थानीय सरकारले पनि आ–आफ्नै तरिकाले दिवस मनाउने कार्यक्रम तय भएको छ । सबै कार्यक्रममा राष्ट्रिय झण्डालाई प्राथमिकता दिइने मूल समारोह समितिले जनाएको छ ।

कहाँ कस्तो झण्डा ?

सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ ।


संवैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको आकार ८X६ फिटको हुनेछ ।

नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ६X४ फिट हुनेछ ।

संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैर सरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४X३ फिटको हुनेछ ।

संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार ३०X२० सेन्टिमिटरको हुनेछ ।

नेपाली नागरिकले राष्ट्रिय उत्सव र महोत्सवहरुमा ३०X२० सेन्टिमिटर आकारको झण्डा हातहातमा लिएर हिँड्न सक्ने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रयोग गर्न सक्ने गरी राष्ट्रिय झण्डा अंकित टी–शर्टको समेत नमूना सार्वजनिक गरेको छ । जसअनुसार सेतो टी–शर्टमा छातीमा पर्ने गरी राष्ट्रिय झण्डा राखेर लगाउन पाइने छ ।

सरकारले दिवसको अवसरमा असोज ३ गते देशका विभिन्न भागमा हुने कार्यक्रमहरुमा उपस्थित भई झण्डा बोकेर र्यालीमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।

दिवसको अवसरमा असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रमसहित दिपावली गरिने र मुख्य दिन असोज ३ गते काठमाण्डौको सैनिकमञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरिने मुल समारोह समितिले जानकारी दिएको छ ।

नेपाली झण्डाको महत्व

राष्ट्रिय झण्डा हरेक राष्ट्रको गौरव, सम्मान तथा शान्ति र क्रान्तिको प्रतीक मानिन्छ । राष्ट्रिय महत्वलाई झल्काउँदै सबै जातजाति र समुदायबीच एकता र सद्भाव कायम गर्नमा झण्डाको भूमिका अतुलनीय हुन्छ ।

दुई त्रिकोणमध्ये माथि चन्द्र र तल सूर्य अङ्कित सिम्रिक रङको नेपालको राष्ट्रिय झण्डा विश्वकै पृथक र आकर्षकमध्ये मानिन्छ । चन्द्रले शीतल तथा सूर्यले तेज र अटलताको सङ्केत गर्छ ।

नेपालको झण्डामा सिम्रिक रङ छ, यो क्रान्तिको प्रतीक पनि हो र किनारामा शान्तिको प्रतीकका रूपमा गाढा नीलो रङ छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: