किर्गिस्तानको पोस्टमा नेपालको ८ गोल

किर्गिस्तानमा सुरु भएको नाडेज्हा कपमा नेपालले सानदार सुरुवात गरेको छ। नेपालले आइतबार भएको खेलमा घरेलु टिम किर्गिस्तानलाई ८-२ गोलले पराजित गरेको हो।

नेपालको जितमा सावित्रा भण्डारीले ४ गोल गरिन्। तेस्रो, १५औं र ३० औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेकी उनले ५४ मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी थिइन्।

यस्तै अनिता बस्नेतले ३४औं र ८९औं मिनेटमा गरी २ गोल गरिन्।दिपा राईले २५औं र निरु थापाले ३७औं मिनेटमा १-१ गोल थपे।

किर्गिस्तानका लागि अइजानले १९ औं र अइपेरीले २२ औं मिनेटमा गोल गरेका थिए।

नेपालसहित चार टिमले भाग लिइरहेको प्रतियोगितामा नेपालले सोमबार उज्वेकिस्तान र मंगलबार ताजकिस्तानसँग खेल्नेछ।

प्रतियोगितालाई नेपालले दक्षिण एसियाली खेलकुद (साग) को तयारीको रुपमा लिएको छ।

साग आगामी मंसिर १५ देखि नेपालमा आयोजना हुने तय छ। घरेलु भूमीमा हुने सागमा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपालको मुख्य चुनौती भारत रहेको छ।

यसअघि गत वर्ष विराटनगरमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाललाई भारतले फाइनलमा पराजित गरेको थियो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: