शक्तिशाली ताइफुका कारण टोकियो सहित धेरै स्थानका जेआर ट्रेन नचल्ने

यो सिजनको १५ औं आँधी फाक्साइले टोकियो सहित जापानको ठूलो क्षेत्रमा असर पुर्याउने सम्भावना बढेपछि जेआर इष्टले टोकियोको ठूलो क्षेत्रमा चल्ने रेलसेवा सोमबार विहानका लागि रद्द गर्ने जनाएको छ ।

जापानको मौषम एजेन्सीले आइतबारदेखिनै फाक्साईको प्रभावस्वरुप ठूलो मात्रामा बर्षा र हावाहुरी चल्ने बताएपश्चात सम्भावित खतराबाट जोगिन आफ्नो नियमित रेलसेवा रद्द गर्ने जेआर इष्टले जनाएको हो ।

रेलसेवा विहान ८ बजेसम्मका लागि बन्द रहने र रेल ट्रयाकहरुको चेकजाँचपश्चात ठीक भए सेवा सुचारु हुने श्रोतलाई उधृत गर्दै क्योदो न्यूजले जनाएको छ ।

टोकियोसहित कानागावा र साइतामा प्रिफेक्चरमा चल्ने आफ्ना रेल लाइनहरु पूर्णतया सुरक्षित रहने एकिन भएमा ८ बजेअघि नै पनि रेलसेवा सुरु गरिने बताइएको छ । तर ताइफुको प्रभाव ठूलो रहेमा र रेल ट्रयाकमा समस्या देखिएमा तोकिएभन्दा ढिलो सुचारु हुने सम्भावना रहेको पनि समाचारमा उल्लेख छ ।

तोहोकु, जोएचु र होकुरिकुमा चल्ने आफ्ना बुलेट ट्रेनहरुभने नियमितझै चल्ने जेआर इष्टले जानकारी दिएको छ ।

यता तोक्यु कर्पोरेसनले पूर्वि कानागावा र दक्षिणपश्चिमी टोकियोका विभिन्न भागमा चल्ने आफ्ना ८ लाइनहरु विहान रोक्नसक्ने सम्भावना रहेको बताएको छ । तोक्यु कर्पोरेशन अन्र्तगत चल्ने ति लाइनहरु टोकियोका विभिन्न भागससहित १०० किलोमिटरका ९७ स्टेशनहरुमा रोकिन्छन् ।

यो सिजनको १५ औ ताइफु कान्तो क्षेत्र तथा सिजुओका प्रिफेक्चरमा आइतबार राती र सोमबार विहानैको समयमा आइपुग्ने अनुमान छ । यसले २१६ किलोमिटर प्रतिघण्टा बराबर आँधी निम्त्याउने जापान मौषम एजेन्सीको अनुमान छ । यसले सोमबार दिउँसोदेखि २४ घण्टाभित्र जापानको मध्य तथा पूर्वी क्षेत्रमा २०० र ३०० मिलिमिटरसम्म बर्षा गराउने मौषमविद्हरुले बताएका छन् ।

भारी बर्षाका कारण केही स्थानहरुमा पहिरो जान सक्ने उच्च सम्भावना रहनुका साथै बाढी र शक्तिशाली हावा बहन बढ्न सक्ने जेएमएले चेतावनी दिएको छ । केही क्षेत्रमा मेघ गर्जनको समेत सम्भावना रहेको बताइएको छ भने भारी वर्षाको सम्भावना पनि उत्तिकै रहेकाले सचेत रहन चेतावनी जारी गरिएको छ ।

नेपाली इन जापान 

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: