जापानमा रेल दुर्घटना, एक जनाको ज्यान गयो, ३१ जना घाइते

जापानमा बिहिबार बिहान यात्रुबाहक रेल सामानले भरिएको ट्रकसँग ठोक्किंदा कम्तिमा ३१ जना घाईते भएका छन् । दुर्घटनामा परि एक जनाले ज्यान गुमाएका छन् ।

जापानको राजधानी टोकियो नजिक योकोहामा शहरको कानागावा सिन्माची र नाकाकिदो रेल स्टेशन बिचमा केईक्यु लाईनको रेल दुर्घटनामा परेको हो ।

प्रहरीलाई उदृत गर्दै एनएचके टेलिभिजनले उल्लेख गरे अनुसार रेल कुद्ने लिगमा अकस्मात सुन्तला लगायत फलफुलले भरिएको ट्रक आएपछि रेल र ट्रक ठोक्किन पुगेको थियो ।

ट्रकसँग ठोक्किन पुग्दा रेलको अगाडीको तीनवटा डिब्बामा रहेका धेरै यात्रु घाईते हुनपुगेका छन्।

जापानी समाचार अनलाईन जापान टुडेले घाईते मध्ये केही गम्भिर रहेको उल्लेख गरेपनि गम्भिर घाइतेहरुको संख्या खुलाएको छैन ।

यसैगरि जापानटाईम्स अनलाईनले रेल दुर्घटना बिहान ११ बजेर ४० बजेको समयमा भएको उल्लेख गर्दै ट्रकसँग ठोक्किन पुगेपछि रेलको अघिल्लो भागमा आगो लाग्नुका साथै धुवाँको मुस्लो छुटेको जनाएको छ ।

यद्यपी आगलागीबाट रेलमा भने ठूलो क्षति पुग्न नपाएको समाचारमा जनाईएको छ ।

रेलमा रहेका यात्रुहरु आकस्मिक ढोका खोलेर रेलको लिगहुँदै भागेको दृश्य एनएचके टेलिभिजनले प्रशारण गरिरहेको छ ।

समाचार अनुसार ट्रक चालक गम्भिर रुपमा घाईते भएको र उनको नजिकैको एक अस्पतालमा आकस्मिक उपचार भईरहेको छ ।

दुर्घटनापछि जापानको यातायात सुरक्षा वोर्डले आकस्मिक रुपमा अनुसन्धान गर्न एक टोलि पठाउने भएको छ । प्रारम्भिक रुपमा हेर्दा जमिनको सतहमै रहेको रेलको लिगको भागको बिचमा आएर ट्रक अड्कीएको र आफ्नो गतिमा रहेको रेल अकस्मात ट्रकसँग ठोक्किन पुगेको देखिएको प्रहरी अधिकारीहरुलाई उदृत गर्दै समाचारमा उल्लेख छ ।

ट्रक कसरी बिचमा आएर रोकिन पुग्यो तथा दुर्घटनाको कारण भने थाहा हुन नसकेको बताईएको छ । रेल दुर्घटनापछि योकोहामा शहरको कानागावा सिम्माची र नाकाकिदो रेल स्टेशन क्षेत्र अवरुद्ध भएको र केईक्यु लाईन अवरुद्ध रहेको छ ।

आजदिनभर जसो सो क्षेत्रको रेल अवरुद्ध रहने सम्भावना रहेकाले बैकल्पिक बाटो मार्फत यात्रा गर्न यात्रुहरुलाई केईक्यु रेल सेवाले अनुरोध गरेको छ ।

जापानसमाचार डटकमबाट

Leave a Reply

Scroll to Top
%d bloggers like this: