बंगलादेशमा डेंगुको प्रकोप : ४० को ज्यान गयो, हजारौं संक्रमित

२९ साउन, काठमाडौं । बंगलादेशमा डेंगुको प्रकोप देखिएको छ । सन् २०१९ को जनवरीदेखि हालसम्म ४० ले ज्यान गुमाएका छन् भने हजारौं यसबाट संक्रिमत बनेका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरले डेंगुका कारण ४० ले ज्यान गुमाइसकेको र हजारौं त्यसबाट संक्रिमत भएको बताएका छन् ।

यद्यपि, बंगलादेशी सञ्चारमाध्यमहरुले सरकारको तथ्यांकभन्दा धेरै बढी मानिसले ज्यान गुमाएको दाबी गरेका छन् । गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकले डेंगुको संक्रमणबाट ज्यान गुमाएको उनीहरूको भनाइ छ ।

रोग फैलिन सक्ने चिन्ता

गत जनवरीदेखि नै सुरु भएको डेंगुको संक्रमण निर्मूल हुनुको सट्टा बढ्दै गएपछि सरोकारवालाहरू चिन्तित देखिएका छन् ।

बंगलादेशमा हप्ता दिन लामो इद–अल–आधा मनाउन लाखौं नागरिकहरू शहरबाट गाउँ भित्रिएका छन् । यसरी गाउँ पसेकाहरुले रोग सार्ने र यसको संक्रमण थप भयावह बन्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

स्वस्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम अजादले बिदा रद्ध गरी संकटलाई साम्य पार्न सबै स्वास्थ्यकर्मीहरुलाई अपिल गरेका छन् ।

उपचारमा कठिनाइ

पछिल्लो समय डेंगु संक्रमित पनि उत्तिकै बढिरहेका छन् । गत जनवरीदेखि ४४ हजार बिरामी डेंगुको आशंकामा अस्पताल भर्ना भइसकेका छन् । सोमबार मात्रै विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएको स्वास्थ्य मन्त्रालयका अधिकारी अयेशाले बताएका छन् ।

डेंगुको संक्रमणमा परेका हजारौं बिरामी उपचारका लागि अस्पताल पुगेपछि सेवाप्रवाहमा समेत कठिनाइ भएको छ । अस्पतालका शैय्या संक्रमितले भरिएपछि भुइँमा बसेर बिरामीले  उपचार गरिरहेका छन् ।

लामखुट्टेको टोकाइबाट हुने भाइरल संक्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डे‌गु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ र यो सामान्यतया दक्षिण एसियाली मुलुकहरूमा मनसुनी वर्षापछि अर्थात् जुनदेखि सेप्टेम्बरमा देखापर्ने गरेको छ । तर यो वर्ष एशियाली केही मुलुकहरूमा डेंगु जटिल समस्याका रूपमा देखा परेको छ ।

नेपालकै धरानलगायतका क्षेत्रमा पछिल्ला केही महिनादेखि डेंगुको प्रकोप बढे पनि निणन्त्रणमा आउन सकेको छैन । बरु अन्य क्षेत्रमा पनि फैलँदै गइरहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: