इरानका विदेशमन्त्रीलाई अमेरिकाले लगायो प्रतिबन्ध

१६ साउन, काठमाडौं । इरानी विदेशमन्त्री मोहम्मद जभाद जरिफलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । जरिफले इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयनमा भूमिका खेलेको भन्दै अमेरिकाको यूएस डिपार्टमेन्ट अफ ट्रेजरीले जरिफलाई प्रतिबन्धको घोषणा गरेको हो ।

‘जभाद जरिफले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयन गरेका छन्’, ट्रेजरी सेक्रेटरी स्टेभन मुचिनले प्रतिबन्ध लगाउनुको कारणबारे भनेका छन् ।

प्रतिबन्धले जरिफको अमेरिकामा रहेका सबै सम्पत्ति फ्रिज हुनेछ । त्यस्तै, अमेरिकाद्वारा नियन्त्रित संघ–संस्थामा रहेका जरिफको धन–सम्पत्ति पनि जरिफले पाउने छैनन् ।

अमेरिकाले लगाएको प्रतिबन्धपछि एक ट्वीट गर्दै जरिफले आफ्नो एजेन्डाबाट खतरा महसुस गरेर अमेरिकाले प्रतिबन्ध लगाएको प्रतिक्रिया दिएका छन् । अमेरिकाको प्रतिबन्धप्रति खुसी व्यक्त गर्दै उनले यसलाई इरानी एजेन्डाको सफलताको रूपमा व्याख्या गरेका छन् ।

आणविक गतिविधि रोक्ने उद्देश्यका साथ सन् २०१५ मा इरानसँग भएको न्यूक्लियर सम्झौताबाट अमेरिका पछि हटेपछि बढ्दै गएको तनाव पछिल्लो समय उत्कर्समा छ ।

समुद्री मार्गमा पछिल्लो समय यसकै प्रतिच्छाया देखिन थालेको छ । जसले सैन्य द्वन्द्व बढाउन सक्ने भन्दै चिन्ता व्यक्त भइरहेका छन् ।

साभार – अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: