तीन चर्चित गन्तव्यलाई हवाई सञ्जालले जोड्दै

६ साउन, काठमाडौं । देशका करिव दुई दर्जन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको एक मात्र केन्द्र काठमाडौं हो । पूर्वमा विराटनगर र पश्चिममा नेपालगञ्ज तथा सुर्खेत चलेका क्षेत्रीय ‘हव’ हुन् । तर, पछिल्लो समय पर्यटकीय शहर पोखरा पनि क्षेत्रीय हवका रूपमा स्थापित हुने क्रममा छ ।

नारायणघाट–मुग्लिन सडक खण्डको निर्माण सम्पन्न नभएसम्म काठमाडौं र पोखराबाट चितवन जान निकै मुस्किल थियो । यही मौकामा नेपाल वायुसेवा निगमले पोखरा–भरतपुर रुटमा उडानको घोषणा गर्‍यो । तर, उडाउन सकेन । निजी लगानीको वायुसेवा कम्पनी बुद्धले उडान सुरु गर्‍यो, जुन अहिले नियमित छ । बुद्धले पोखरा–भैरहवा रुटमा पनि नियमित सेवा दिन्छ ।

यसैबीच, निजी क्षेत्रको अर्को कम्पनी यती एयरलाइन्सले पनि पोखराबाट उडान विस्तारको मिति सार्वजनिक गरेको छ । यतीले भैरहवा र भरतपुरमा नियमित उडान सुरु गर्ने भएको छ ।

पोखराबाट ४ गन्तव्यमा उडान

पोखराबाट काठमाडौं पुरानै गन्तव्य हो । भैरहवा र भरतपुर विमानस्थलबाहेक पोखराबाट माउन्टेन फ्लाइट पनि हुन्छ । यसअनुसार पोखरा विमानस्थलबाट ४ गन्तव्यमा उडान सुविधा उपलब्ध हुन्छ । बुद्धले नियमित गरिरहेको माउन्टेन फ्लाइटलाई यती एयरलाइन्सले पनि उडाउने योजना बनाएको छ ।

पोखराबाट अन्नपूर्ण हिमश्रृङ्खलाका लागि माउन्टेन फ्लाइट हुन्छ । यसअघि काठमाडौंबाट मात्र हुने गरेको माउन्टेन फ्लाइट विराटनगर र पोखरामा पनि सुरु भएको हो । विराटनगरबाट सफल परीक्षण भइसकेको छ । बुद्धले भैरहवा र भरतपुरमा दैनिक एक उडान राखेको छ । कम्पनीका अनुसार यी रुटमा १९ सिट क्षमताको सानो जहाज उड्छ । धेरै यात्रु भएको अवस्थामा भने बुद्धले एटीआर ४२ जहाज उडाउने गरेको छ ।

यतीको उडान १६ साउनबाट

यती एयरलाइन्सले १६ साउनमा पहिलो उडान पोखरा–भैरहवामा राखेको छ । पोखरा–भरतपुरमा भने १५ भदौबाट उडान सुरु हुने भएको छ । २९ भदौबाट माउन्टेन फ्लाइटको योजना छ । माउन्टेन फ्लाइटका लागि भने मौसमको अनुकूलता पनि हेर्नुपर्छ ।

नेपालमा पर्यटकीय गन्तव्य सीमित छन् । काठमाडौं आउने पर्यटक पोखरा र बढीमा चितवनसम्म पुगेर फर्किरहेका छन् । यस अवस्थामा वायुसेवा कम्पनीहरुले उडान विस्तार गरी पोखरा आएका पर्यटकलाई लुम्बिनीसम्म सजिलै पुग्ने वातावरण बनाएका छन् । पोखरा–भैरहवा र पोखरा–भरतपुरका उडान समय औसत २० मिनेटको हो ।

काठमाडौंलाई राहत

हरेक गन्तव्यका उडान काठमाडौंबाट हुँदा त्यसले त्रिभुवन विमानस्थललाई तीव्र चाप परिरहेको छ । अधिक उडानका कारण आकाशमा जहाज ‘होल्ड’ हुने र ग्राउण्डमा उडान ‘डिले’ हुने समस्या काठमाडौंमा छ ।

कम्पनीहरुले क्षेत्रीय उडानलाई प्राथमिकता दिँदा त्यसले काठमाडौंलाई ठूलो राहत दिने त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । ‘अहिले कम्तीमा बुद्धको एउटा जहाज पोखरा बस्छ, केही समयपछि यतीको पनि उतै बस्नेछ,’ उनले भने, ‘यसले काठमाडौंलाई धेरै राहत हुनेछ ।’

मुख्य पर्यटकीय मौसममा काठमाडौं र लुक्लापछि पोखरा सबैभन्दा व्यस्त विमानस्थल हो । यसबाहेक नेपालगन्ज, विराटनगर सुर्खेत विमानस्थल बढी व्यस्त रहन्छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: