सार्थकता दिएर गए कुसुम

वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठले मृत्युवरण गर्नुभएको आज ६ दिन पुग्यो। मृत्यु जीवनको अन्तिम सत्य हो। ८३ वर्षको भरपूर, सक्रिय र सार्थक जीवन बाँचेर यो अन्तिम सत्य ग्रहण गर्नु आफैंमा एउटा उपलब्धि हो। आज सेतो कागजमा कालो कलम दौडाइरहेको म रहने छैन र अखबारमा छापिएका यी पंक्तिमा आँखा दौडाइरहनुभएका तपाईं पनि रहनुहुने छैन। हामी सबैले मृत्युरूपी अन्तिम सत्य स्वीकार गर्नैपर्छ। तर एउटा सत्य के हो भने सार्थक जीवन बाँचेको मानिस मरेपछि पनि जिउँदै रहन्छ। जीवनको सार्थकता ‘दिनु’ मा छ, ‘लिनु’ मा छैन। मृत्युपछि आफन्तका बीचबाहेक समाजमा चर्चा त्यसैको हुन्छ, जसले परिवारलाई होइन, समाजलाई केही दिएर जान्छ। समाजलाई ‘दिएर जाने’ सीमित व्यक्तिहरूको समूहमा २०७५ कात्तिक २१ गतेपछि जोडिन पुगेको नाम हो– कुसुम श्रेष्ठ।

२०१९ सालदेखि २०७५ सालसम्म अर्थात् ५६ वर्ष उहाँको समाज भन्नु नै कानुन व्यवसाय थियो। यी ५६ वर्ष उहाँले घरजग्गा जोड्ने, गाडी चढ्ने, बैंक मौज्दात बढाउने, छोराछोरी पढाउने, विवाह गरिदिने, मिडियामा छाउने, तडकभडकको जीवन बाँच्ने र राजनीतिक पद प्राप्त गर्नेसमेतका काममा बिताउनुभएन। समाजमा केही यस्ता काम हुन्छन्, जसले लाभ होइन लगानी खोज्छन्। सम्मान होइन, समय माग्छन् र षड्यन्त्र होइन, सिर्जना रोज्छन्। यस अर्थमा कुसुमले कानुन र न्यायिक जगत्लाई निःस्वार्थ भावले दिएर जानुभएको छ। त्यसैले त उहाँ आम कानुन व्यवसायीभन्दा पृथक् हुनुहुन्छ।

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको आज पनि प्रचलित मूल विधानको मस्यौदाको नेतृत्व उहाँकै थियो। नेपाल बारका राष्ट्रिय सम्मेलनहरूको सोच र त्यसलाई मूर्तता दिने समूह सदस्य पनि उहाँ नै हो। नेपाल कानुन समाजको प्रथम उपाध्यक्ष र पछि अध्यक्षका रूपमा उहाँका योगदान बिर्सन नहुने हो। सर्वोच्च अदालत बार एसोसिएसनको प्रथम अध्यक्षका रूपमा पनि उहाँको छवि छ। उहाँका लेख, सम्पादकीय र कानुनी मस्यौदा कानुनी साहित्यका मानक हुन्। यी देखिने देनभन्दा पनि उहाँको आम व्यक्तिसँग साक्षात्कार नभएको व्यक्तित्व गहन थियो।

कुसुमले आफूमात्र होइन, धेरै वकिल जन्माउनु भयो, जसको सूची लामो हुन्छ। नयाँ वकिललाई आफूजस्तै इमानदार, अध्ययनशील तथा सामाजिक कार्यमा अग्रसरता लिन र ‘मानिस’ बन्न प्रेरित गर्नुभयो। त्यसैले उहाँ व्यक्तिमात्र होइन, ‘संस्था’ हुनुहुन्थ्यो। जो आफ्नो विषयमा मात्र सोच्छ त्यो प्राणी मात्र हो, जो देश समाज र अरूका लागि पनि सोच्छ, त्यो मानिस हो।

सोचले जन्माउने चिन्तनले प्राणीभित्र मानिस जन्माउँछ। सोच्ने शक्ति संसारमा सबैसँग हुँदैन सीमित व्यक्तिसँग मात्र हुन्छ। सोच र चिन्तनकै उपज हुन ‘सिर्जना’। निसन्देह कुसुम सिर्जनाकार हुन्। न्यायपालिका र कानुन व्यवसायलाई एउटा दिशा दिने सिर्जनाकारको सीमित समूहमा कुसुमको नाम अग्रपंक्तिमा आउँछ।

उहाँका कानुनी मस्यौदाले खासगरी संवैधानिक र फौजदारी मुद्दाले एउटा गति लिन्थे, उहाँको विद्वत् बहसले नजिर जन्माउन प्रेरित गर्दथे। कानुनी क्षेत्रमा आज हामी हिजोको पुस्ताले गरेको लगानीको ब्याज खाइरहेका छौं। त्यसैले कम्तीमा बारले भुल्न नहुने नाम हो कुसुम।
आजको बारको विषयमा त मलाई थाहा छैन। तर हिजो बारले कुसुमलाई सम्मानको साटो यातना पनि दियो। बार बुद्घिजीवी मात्रको थलो थियो, तर समयको भेलसँगै राजनीतिले प्रवेश गरेपछि यो विद्वान्हरूको जमात ‘कम’ र राजनीतिको अखडा ‘बढी’ बन्दै गयो। आज बुद्घिजीवी दुईचारबाहेक छैनन् भन्दा हुन्छ। बारमा काबु (कांग्रेस बुद्धिजीवी) र बाबु (वामपन्थी बुद्धिजीवी) हावी भएका छन्। कुसुमलाई केही समय काबु र बाबुको प्रभुत्वले प्रताडना पनि दियो। नेपाल कानुन समाजको जन्मलाई नेपाल बार एसोसिएसनको समानान्तर संस्था खोलेको मानियो र यसभन्दा बढी अन्तर्राष्ट्रिय बार एसोसिएसन (आईबीए) को सदस्यता लिएपछि यो केही व्यक्तिका आँखामा ‘अपराध’ ठहरियो। तर कुसुम विचलित हुनुभएन, सिर्जनशीलता र न्यायप्रतिको निष्ठाले नै उहाँलाई सघायो। आज बारको विकास जेजस्तो रूपमा अगाडि बढेको भए पनि कुसुम सबैले सम्झनैपर्ने नाम हो। मैले चार वर्ष उहाँको निकटतम् सहायक भएर कानुन व्यवसाय गरेको थिएँ भन्दा गौरव महसुस हुन्छ।

नेपाल बार एसोसिएसनलाई अन्तर्राष्ट्रिय बार एसोसिएसनसँगको आबद्धता र सहकार्य बारको इतिहासमा एउटा अमिट पाटो हो। नेपाल बार र नर्वेजियन बारको २०४४ साल मंसिर ११ गते सम्पन्न सम्झौताले भौतिकरूपमा बारलाई सक्षम बनायो र गाउँ–गाउँमा यसलाई पुर्‍यायो। नेपालका तर्फबाट यसमा कुसुमको एकल प्रयास र भूमिका थियो। प्रसंगवश यस सन्दर्भमा बिर्सन नहुने अरू दुई नाम हुन् नर्वेजियन बारका आल्फ स्कुग्ली र आईबीएकी तत्कालीन महासचिव बेलायतनिवासी मेडलिन मे।

राष्ट्रिय रूपमा मात्र होइन, आफ्नै खर्चमा आईबीए सम्मेलनमा भाग लिएर होस् वा ल एसियाको सदस्यता लिएर त्यसका सम्मेलनमा आफ्नै खर्चमा भाग लिएर नेपालको कानुनी प्रणालीबारे विश्वलाई अवगत गराउने कार्यमा कुसुमको अपूर्व योगदान थियो।

उहाँका निर्भीकता, बौद्धिकता र सिर्जनशीलता अतुलनीय छन्। पञ्चायती व्यवस्थाको जगजगीको बेलामा बीपी कोइराला, गणेशमान सिंह, ओमकार श्रेष्ठ, यज्ञमूर्ति बन्जाडेका मुद्दा र भीमनारायण श्रेष्ठ तथा यज्ञबहादुरका मुद्दामा धनकुटासम्म पुगेर सेवा दिनु निर्भीकताकै प्रतीक हुन्। मदरल्यान्ड, समीक्षा र निर्मलजस्ता वाक् र प्रकाशन स्वतन्त्रता बारेका, संसद् विघटनजस्तो संवैधानिक विकासबारेका तथा हीरा पासी जस्ता फौजदारी मुद्दाका नजिरहरूमा कुसुमको प्रतिच्छाया उहाँका बौद्धिकताका परिचायक हुन्। कानुनी साहित्य प्रवद्र्धन गर्ने २०२७ सालदेखि प्रकाशित न्यायदूत, नेपालमा बार र कानुन व्यवसायलाई संगठित र उन्नत बनाउन सघाउने ‘कानुनी सहायता परियोजना’ र खासगरी २०४६ सालको जनआन्दोलनको प्रतिफललाई मूर्तता दिने २०४७ सालको संविधान निर्माणमा सघाउने ‘नेपाल कानुन समाज’ उहाँका सिर्जना हुन्।

यी सबैभन्दा बढी इमानदार, सामाजिक योगदानपूर्ण, विशुद्ध, बौद्धिक र पूर्ण व्यावसायिक कानुन व्यवसायमा भूमिका उहाँलाई मृत्युपछि पनि जीवन दिइरहने तत्व हुन्। आज यी तत्वहरूको खाँचो दिनप्रतिदिन बढ्दो छ। शुद्ध व्यवसाय र सामाजिक कर्तव्य निर्वाहका लागि उहाँद्वारा स्थापित मानकहरूलाई पछ्याउने लक्ष्य राख्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: