बिग ब्यासका दुई खेलमा सन्दीपका पाँच विकेट, किन गाह्रो हुन्छ ब्याट्सम्यानलाई?

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियन लिग बिगब्यासमा सानदार प्रदर्शन जारी राखेका छन्।सोमबार भएको मेल्बर्न स्टार होबार्ट हरिकेन्सविरूद्धको खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चिएर ३ विकेट लिए। उनले एक ओभरमामात्र विकेट लिन सकेनन्।

आफ्नो पहिलो ओभरको तेस्रो बलमा सन्दीपले  हरिकेन्सका एलेक्स डुलानलाई बोल्ड पारे।  तेस्रो ओभरको दोस्रो बलमा म्याथ्यू वेडलाई एडाम जाम्पाको हातबाट क्याच गराए।चौथो ओभरको पहिलो बलमा बेन मेकडर्मटलाई एलबीडब्लु धराप पारे।

मेल्बर्न स्टार क्लबमा अनुबन्धित सन्दीपले यसअघि शुक्रबार भएको सिड्नी थन्डरविरूद्धको आफ्नो डेब्यू खेलमा दुई विकेट लिएका थिए।आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा थन्डरका कप्तान सेन वाट्सनलाई २२ रनमा आउट पारे। सोही ओभरको अन्तिम बलमा सन्दीपले क्यालम फर्गसनलाई १५ रनमा कट एण्ड बोल्ड गरे। सन्दीपले पहिलो ओभरमा ३ रनमात्रै खर्चेर २ विकेट लिए।

२ खेलमा पाँच विकेट लिएका सन्दीप एडिलेड स्ट्राइकर्सका अफगानी लेग स्पिनर रसिद खान र हरिकेन्सका इंग्लिस तीव्र गतिका बलर जोफ्रा आर्चर र मेल्बर्न रेनिगेड्सका अष्ट्रेलियन मध्यम गतिका बलर केन रिचर्डसनसँगै संयुक्त शीर्षस्थानमा छन्।

इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेको वर्षदिन नपुग्दै सन्दीपले खेलेको बिगब्यास विश्वचर्चित अर्को लिग हो।आइपिएलको गत सिजनयता सन्दीप विश्वभरिका सबै ठूला लिगमा अनुबन्धित भइसकेका छन्। उनले क्यारेबियन प्रिमियर लिग र टिटेन लिग खेलिसकेका छन् भने पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमयर लिगमा पनि अनुबन्धित भइसकेका छन्।खेलेकामध्ये सबै लिगमा विश्वका चर्चित ब्याट्सम्यानलाई पेवेलियन फर्काइदिएर आफ्नो छाप छोड्न सन्दीप सफल छन्।

गत सिजनको आइपिएलमा दिल्ली डेयरडेभिल्स(अहिले क्यापिटल्स) मा आवद्ध सन्दीप सुरूमा प्लेइङ ११ मा परेनन्। प्लेअफमा पुग्ने सम्भावना सकिएपछिका तीन खेलमा मात्र सन्दीप दिल्लीको प्लेइङ ११ मा परे। ती तीन खेल नै आफ्नो असीमित प्रतीभा देखाउन सन्दीपका लागि पर्याप्त भए। उनी उक्त सिजनमा आइपिएलका उत्कृष्ट बलरमध्येमा दरिए।

उनले आइपिएलमा दोस्रो सबैभन्दा बढी रन बनाउने भारतीय राष्ट्रिय टोलीका सुरेश रैनालाई आउट पारे। मुम्बई इन्डियन्सविरूद्धको अन्तिम खेलमा सन्दीपले सनसनी नै मच्चाए। दुई ओभरमै उनले मुम्बईका तीन महत्वपूर्ण विकेट लिएर उसको प्लेअफमा पुग्ने ढोका बन्द गरिदिए।आइपिएलको ११ औं सिजनमा स्पिनरमध्ये सन्दीप दोस्रो किफायती बलर बने। उनको भन्दा राम्रो इकोनोमी रेट न्युजिल्याण्डका इश सोधीको मात्र थियो।आइपिएलदेखि बिग ब्याससम्म विश्वचर्चित ब्याटसम्यानको विकेट लिने सन्दीपको बलिङमा त्यस्तो के विशेषता छ जसले ब्याट्सम्यान अप्ठेरोमा पर्छन्?

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का भन्छन् – सन्दीपको बलिङको सबैभन्दा बलियो पक्ष भनेको निरन्तर राम्रो र नियन्त्रणमा राखेर बल फाल्नु हो।

सन्दीपको बलमा निकै राम्रो नियन्त्रण हुन्छ। उनी  खराब बल एकदमै कम फाल्छन्।शुक्रबारको खेलमा पनि खेलअगाडि भएको वर्षा र खेलका दौरान हल्का पानी परेकाले बल चिप्लो भएकाले उनले सर्ट-पिच बल फालेका हुन्। आइपिएलमा दिल्लीका प्रशिक्षक तथा अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले खेलमा कमेन्ट्री गर्दै  ‘बल चिप्लो भएकाले सन्दीपको नियन्त्रण बिग्रेको’ बताएका थिए।

सन्दीपले फालेको गुगलीलाई धेरै ब्याट्सम्यानले ठम्याउन सक्दैनन्। उनले फालेको बल लेग स्पिनका लागि खेल्न पर्खेका ब्याट्सम्यान अचानक बल अर्कोतिर घुम्दा झुक्किन्छन् र आउट हुन पुग्छन्।सोमबारको खेलमा पनि सन्दीपले दुई विकेट गुगली फालेर लिएका हुन्। गुगली ठम्याउन नसक्दा हरिकेन्सका डुलान बोल्ड भए भने मेकडर्मट खुट्टाले स्टम्प छेकेका कारण एलबिड्ब्लुमा आउट हुन पुगे।

टीट्वान्टी फर्म्याटमा ब्याट्सम्यानहरू रन जोड्न छक्का र चौका हान्नु पर्ने दबाबमा हुन्छन्। त्यसैले राम्रो बलमा पनि उनीहरू बिग सट हान्न खोज्छन्। सन्दीपले ब्याट्सम्यानलाई छक्का हान्न निम्तो  जसरी फ्लाइट दिएर बल फाल्छन्।

तीव्र/मध्य गति र स्पिन बलभन्दा लेग स्पिन बल खेल्न अलि गाह्रो पनि हुन्छ।औंलामा बल घुमाउने स्पिनरभन्दा नाडी घुमाएर फालिएको लेग स्पिनरको बल बढी बाउन्स हुने भएकाले ठूला सट खेल्न खोज्दा ब्याटको माथि लाग्ने हुन्छ।सन्दीप स्मार्ट छन्। उनी ब्याट्सम्यानले आफ्नो बललाई कस्तो प्रहार गर्न सक्छ भन्ने पहिल्यै आँकलन गर्न सक्छन्।

‘सन्दीपका खेल विश्वभरिका फेन्चाइज र प्रशिक्षकले हेरिरहेका हुन्छन्। सन्दीप जहाँजहाँ खेल्न गएका छन् त्यहाँ उनको क्षमताका कारण पिक गरेको हो,’ कप्तान खड्का भन्छन्,’ऊनी मेहेनती छन्। शुक्रबारको खेलमा  पोन्टिङले कमेन्ट्री गरेको सुन्नुभयो होला- गत सिजनको आइपिएलमा प्लेइङ ११ मा नपर्दा पनि सन्दीप दैनिक ३-४ घन्टा बलिङ गर्थे।’

पोन्टिङले उनलाई भविष्यको चम्किलो सम्भावना भनेका छन्। बलिङकै कारण सन्दीपले विश्व क्रिकेटमा नाम बनाएका छन्।’बलिङ गर्दा सन्दीप आत्मविश्वासी देखिन्छन्। उनी एकदमै प्रतिष्पर्धी स्वभावका पनि छन्, त्यो उनको अर्को बलियो पक्ष हो,’ खड्काले भने।शुक्रबारको खेलमा कमेन्ट्री गर्दै पोन्टिङले भनेका थिए- सन्दीपको व्यक्तित्व पनि गज्जबको छ। उनी आफूलाई नेपालको विराट कोहली भन्छन्।कोहली विश्वभरी आफ्नो ब्याटिङका लागिमात्र नभएर प्रतिष्पर्धी स्वभावका कारणले पनि चिनिन्छन्।

राष्ट्रिय टोलीका पूर्वकप्तान एंव नेपाली यू-१९ टोलीका प्रशिक्षक विनोद दास गति र ‘क्विक आर्म एक्सन’ले सन्दीपलाई फाइदा भएको बताउँछन्।’बलमा नियन्त्रण महत्वपूर्ण कुरा हो जसले सन्दीपलाई विशेष बनाएको छ,’ दासले सेतोपाटीसँग भने, ‘लेग स्पिन निकै कठिन कला हो। सन्दीपले यो कला निकै छिटो सिकिरहेका छन्। वास्तवमा भन्ने हो भने उनी निकै छिटो लेग स्पिनको कलामा माहिर हुँदैछन्।’setopati.com

Leave a Reply

Scroll to Top
%d bloggers like this: