राहुघाट जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानीकल ठेकेदार छनौट (तस्बिर र भिडियो सहित)

पिप्ले, ३ मंसिर । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइइ«ो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानीकल ठेकेदार छनौट भएको छ ।

भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले ४० मेगावाट क्षमताको राहुघाटको इलेक्ट्रोमेकानीकल ठेक्का पाएको हो । एक करोड दुई लाख, ९३ हजार २२.३५ अमेरिकी डलरमा ३६ महिने ठेक्का सम्झौता भएको रघुगंगा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो ।

‘तीन वटा कम्पनी ठेक्का प्रक्रियामा सहभागि भएका थिए,’ उहाँले भन्नुभयो ‘सबैभन्दा कम दररेट कबोलेको भेलसंग सम्झौता गरेर स्वकृतिका लागि ऋण लगानीकर्ता भारतीय एक्जीम बैङ्कमा पठाएका छौ ।’

बैङ्कले सम्झौता स्विकृत गरेपछि ठेकेदार परिचालिन गर्न काम गर्ने आदेश दिने उहाँले बताउनुभयो । भेल भारतको सरकारी निर्माण कम्पनी हो । भोइट हाइड्रो र एन्ड्रिज हाइड्रो पनि ठेक्का प्रक्रियामा सहभागि भएका थिए ।

भेलसंग विद्युतगृह भित्रका उपकरण र स्वीचार्डका उपकरण आपुर्ति, ढुवानी र जडान गर्ने प्रयोजनका लागि सम्झौता गरिएको हो । आयोजनाको पिप्ले स्थित अडित न. ३ मा १३५ र बुक्लको अडिट न. २ मा १०५ मिटर सुरुङ निर्माण भएको छ । गत असार महिनादेखि सुरुङ खन्न सुरु भएको थियो । पिप्लेमै सर्च ट्याङ्क पनि निर्माण भइरहेको छ ।

बेनी–जोमसोम सडक अन्तरगत पर्ने तिल्केनीचौरमा विद्युतगृह निर्माण सुरु गर्ने तयारी गरेको छ । सिभिल ठेकेदार कम्पनी जेपी एसोसियट्सले घुमाउने तालदेखि बाँधसम्म १० किलोमिटर सडकको ट्याक खोलेको छ । बाँध स्थल जाने बाटोमा पर्ने रघुगंगा नदीमाथि मोटर चल्ने ट्रस पुल बनाउन लागेको कम्पनीका उपनिर्देशक गोपाल पाठकले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणले २०६६ देखि बनाउन सुरु गरेको यो आयोजनाको एक दशकको भौतिक प्रगति करिब २० प्रतिशत छ । पुरानो भारतीय ठेकेदार कम्पनी आइभिआरसियलसँगको सम्झौता तोडेपछि जेपी एसोसियट्सले छ अर्ब रुपैयाँमा सिभिल ठेक्का लिएको थियो ।

ठेकेदारले पर्याप्त मात्रामा उपकरण, निर्माण सामग्री र जनशक्ति परिचालन गर्न नसकेका कारण काम सुस्त भएको छ । ४८ महिनाको काम ४५ महिनामा सक्ने सम्झौता गरेको थियो । नदीको बहावमा आधारित राहुघाट जलविद्युत आयोजनाले पिप्ले, झिँ र दग्नाममा दशक अघिनै २८२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।


झिँ र दग्नामको सिमामा बाँध बन्ने आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ । सिभिल ठेकेदारलाई साइट क्लियर गरेर काम गर्ने वातावरण बनाउन निर्देशन दिएको प्रबन्ध सञ्चालक केसीले बताउनुभयो ।

भारतीय एक्जीम बैङ्कको ४४ मिलीयन डलर सहुलियत ब्याजदरको ऋण लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट बनाउन लागिएको हो ।


अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित गत चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

२०७२ मा पुरानो ठेक्का तोडेपछि रोकीएको राहुघाटको सुरुङ खन्ने काम चार वर्षपछि गत असार ७ गतेबाट सुरु भएको थियो । भन्सार विभागबाट उपकरण आयातको अनुमति पाउन समस्या हुँदा निर्माणमा असर परेको ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् ।

रघुगंगा लगायतका निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्नका लागि विद्युत प्राधिकरणले खुर्कोट दाना प्रशारण लाइनका साथै राहुघाटमा सब स्टेशन बनाउन जग्गा अधिग्रहण गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: