धौलागिरि आधार शिविरमा चेक पोष्ट राख्ने तयारी

बगर, ४ मंसिर । संसारको सातौ (८,१६७) मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा चेक पोष्ट राख्ने तयारी भएको छ ।

धवलागिरी गाउँपालिकाले धौलागिरि आधार शिविर नजिकैको इटाली आधार शिविरमा पोष्ट राख्ने तयारी गरेको हो । चेकपोष्ट र स्वास्थ्य परिक्षण केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ ।

गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको सहयोगमा तीन कोठे भवन निर्माण भएको गाउँपालिकाका प्राबिधिक बालकृष्ण पौडेलले बताउनुभयो । ३१ लाख रुपैयाँको लागतमा उपभोक्ता समिति मार्फत भवन निर्माण भएको हो । ‘फर्नीचर व्यवस्थापन र रंगरोगन गरेर भवन प्रयोगमा ल्याउन सकिन्छ,’ पौडेलले भन्नुभयो ।

भवनमा रंगरोगन र फर्नीचर व्यवस्थापन गरेर आगामी सिजनदेखि चेकपोष्ट सञ्चालन गर्ने तयारी गरेको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । चेकपोष्टबाट हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकको तथ्याङ्क राख्ने, सूचना प्रदान र प्राथमिक उपचार सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो ।

‘मुस्ताङ र म्याग्दी भएर धौलागिरि आधार शिविरमा आउने जाने पर्यटकको तथ्याङ्क राख्न लागिएको हो,’ अध्यक्ष पुनले भन्नुभयो ‘आधार शिविरमा पुगेका पर्यटक र सहयोगीलाई प्राथमिक उपचार सेवा उपलब्ध गराउछौ ।’

चेकपोष्टमा स्वास्थ्यकर्मी खटाइने भएको छ । चिसोका कारण आधार शिविरमा बिरामी हुन्छन् । उनिहरुलाई स्वास्थ्य परिक्षण, परामर्श र औषधी उपचार उपलब्ध गराउने योजना छ । पर्यटक तथा पर्यटन व्यवसायी र स्थानीयबासीको मागको आधारमा चेकपोष्ट राख्न लागिएको हो ।

आधार शिविरमा बिरामी हुँदा हेलिकप्टर बोलाएर अस्पताल पु¥याउने गरिएको छ । चेकपोष्ट राखिएपछि पर्यटकको विवरण राख्न र उनिहरुलाई अप्ठ्यारो परेको अवस्थामा सहयोग पुग्ने अपेक्षा छ । यसैगरी आधार शिविरसम्म मोवाइल सेवा विस्तारको तयारी भएको छ ।

नेपाल टेलिकमसंगको साझेदारीमा बगर गाउँदेखि चार घण्टा पैदल उकालो हिडेर पुगिने देउरालीमा बिटिएस टावर स्थापना गर्न लागिएको वडा सदस्य बमबहादुर पुनले बताउनुभयो । गाउँपालिकाले बिटिएस टावर स्थापना गर्न भवन बनाउन बजेट बिनियोजन गरेको छ ।

यसै आर्थिक वर्षभित्र भवन बनाएर टावर सञ्चालन गराउन टेलिकमसंग पहल भएको छ । गुर्जा र आधार शिविरलाई लक्षित गरेर बगरको देउरालीमा टावर राख्न लागिएको हो । यस्तै बगर तातोपानी कुण्डको पानीलाई पदमार्ग अन्तरगत जेल्तुङमा ल्याएर स्नानगृह सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले बताउनुभयो ।

पहाडको फेदीमा रहेको बगर तातोपानी कुण्ड सम्म पुग्ने पुल नुहँदा र पदमार्गदेखि टाढा भएकाले पर्यटक पुग्न सकेका छैनन् । पर्यटक आकर्षित गराउन तातोपानीलाई जेल्तुङ ल्याएर स्नानगृह सञ्चालन गर्न प्राबिधिक सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

धौलागिरि आधार शिविर जोड्ने पदमार्गको सुधार गरिएपछि आवत जावत सहज भएको छ । भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाउन गत आर्थिक वर्षमा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५० लाख रुपैयाँ खर्च गरेको छ ।

नाउराभीरदेखि सल्लाघारीसम्म पदमार्ग मर्मत गरिएको छ । नाउराको भिर जोखिमपूर्ण पहाड हो । नौ किलोमिटर ४०० मिटर अप्ठ्यारो पदमार्गमा बाटो फराकिलो बनाउने र ढुङ्गाको सिँढी चिनेर पदमार्ग मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष रिम रोकाले बताउनुभयो ।

उहाँका अनुसार, ६० प्रतिशत खण्डमा साँघुरो बाटो फराकिलो बनाउने र ४० प्रतिशत खण्डमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाइएको छ । त्यसैगरी सो बजेटबाट बगरको जेल्तुङदेखि सिङकुस, जुरकुस हँदै मल्कबाङ जोड्ने डाँडाखर्कसम्मको पदमार्गसमेत मर्मत गरिएको छ ।

गत आर्थिक वर्षमा संघीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन भएको १५ लाख बजेटबाट इटालीक्याम्पदेखि स्वीस क्याम्पसम्मको करिब दुई किलोमिटर ५०० मिटर पदमार्गलाई मर्मत र फराकिलो बनाइएको थियो ।

पदमार्ग निर्माणसँगै धवलागिरि आधार शिविर र चक्रीय धवलागिरि र हिमाल आरोहणका लागि जाने पर्यटकलाई सहज भएको त्यहाँ खच्चर मार्फत सामान ढुवानी गर्दै आउनुभएका यामलाल शर्माले बताउनुभयो । पदमार्ग मर्मत पछि खच्चरबाट आधार शिविर सम्म सामान ढुवानी गरेर मुस्ताङ समेत पुग्ने गरिएको उहाँले बताउनुभयो ।

पदमार्गअन्र्तगत सबैभन्दा जोखिमपूर्ण मानिने नाउराभीरमा तत्कालीन द्वन्द्वको समयमा माओवादीले श्रम शिविर तथा पर्यटकबाट चन्दा उठाएर पदमार्ग निर्माण शुरु गरेको कार्यलाई शान्ति स्थापनापछि तत्कालीन जिविस र गाविसमार्फत विनियोजन भएको बजेटबाट भीरमा पदमार्गको ट्र्याक निर्माण भएको थियो ।

मनोरम हिमश्रृङ्खलासँगै अग्ला झरना, जंगलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य यस पदमार्गको मुख्य आकर्षण रहेको छ । बगरका होमस्टे व्यवसायी नरप्रसाद पुनले असोज कात्तिकको सिजनमा करिब डेढ सय जना पर्यटक आधार शिविर गएका बताउनुभयो ।

पदमार्गलाई व्यवस्थित र प्रचारप्रसारसंगै होटल तथा लज र होमस्टे सञ्चालन गरेमा पर्यटक आगमन बढाउन सकिने पुनले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: