जेसीज कपको तयारी तिब्र, विद्यालयहरुमा रनिङ्ग ट्रफीको प्रर्दशन

बेनी, ३ मंसिर । म्याग्दी जेसीजको आयोजनामा मंसिर ९ गतेदेखि १४ गतेसम्म बेनीबजारमा हुने १८ औं जेसीज कप फुटबल प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढेको छ ।

पूर्व सन्ध्यामा जिल्लाका विभिन्न विद्यालयहरुमा रनिङ्ग ट्रफिको प्रर्दशन गरिएको छ । जेसीज कप फुटबलको इतिहासमा पहिलो पटक यस्तो अभ्यास गरिएको म्याग्दी जेसीजका महासचिव सन्दीप खत्रीले जानकारी दिनुभयो ।

गत कार्तिक २९ गते जिल्लाको पश्चिमी क्षेत्र दरबाङ, बावियाचौर र सिंगामा रहेका विद्यालयहरुमा मूख्य रनिङ्ग ट्रफि प्रदर्शन गरिएको थियो ।

विद्यार्थीहरुको हौसला बृद्धि गर्नका लागि विद्यालयहरुलाई औपचारिक निमन्त्रणा गर्नका लागि ट्रफि यात्रा गरिएको म्याग्दी जेसीज वर्ष २०१९ का शाखा अध्यक्ष जेसी खम थापा मगरले बताउनुभयो । त्यसैगरी मंसिर ३ गते सदरमुकाम बेनीबजारका विद्यालयहरुमा समेत उक्त ट्रफि प्रदर्शन गरिएको थियो ।

ट्रफि यात्राको क्रममा जेसीज कपलाई अझै व्यवस्थापन गर्न, नयाँ ढंगले अगाडि बढाउन विभिन्न विद्यालयहरुबाट सुझाव प्राप्त भएको मूल संयोजक हरि भण्डारीले बताउनुभयो । बन्धुत्वका लागि जेसीज कप फुटबल भन्ने नारा सहित आयोजना गरिएको फुटबल प्रतियोगितालाई प्रतियोगिताको रुपमा समेत नलिई बन्धुत्वको विकास गराउने उद्देश्ले यात्राको क्रममा विद्यालयहरुलाई बल समेत उपहारको रुपमा प्रदान गरिएको थियो ।

यात्रामा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्व अध्यक्ष विनय श्रेष्ठ, मूल संयोजक हरी भण्डारी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । म्याग्दी जिल्लामा वल्र्ड कपको रुपमा चिनिने जेसीज कप फुटबलले विद्यालय स्तरका प्रतिभाहरुलाई प्रष्फुटनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।

जेसीज कफ फुटबलकै निमित्त विभिन्न विद्यालयहरुले झन्डै २ महिना अगाडिबाट समेत अभ्यास गर्दै आईरहेका छन् । विभिन्न उपसमिति बनाएर तयारी तिव्र पारीएको आयोजकले जनाएको छ । प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर बेनी, मुख्य प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष बेनी म्याग्दी, प्रायोजक रारा हार्डवयर बेनी म्याग्दी र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: