जोमसोम–कोरला सडक तीन दिन बन्द हुने

जोमसोम, ३० कात्तिक । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोम–कोरला सडक ३ दिन बन्द गरिने भएको छ ।

जोमसोम–कोरला निर्माणधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिर देखि झो खोला सम्मको सडक फराकिलो बनाउन मंसिर ५ देखि ७ गतेसम्म सवारी आवत जावत बन्द गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा शुक्रबार जोमसोममा बसेको बैठकले सवारी आवत जावत रोकेर बिस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तार गर्ने निर्णय गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

निर्माणमा बाधा पुग्ने र दुर्घटनाको जोखिम भएकाले सवारी बन्द गरेर सडक विस्तार गर्न लागिएको आयोजना प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो । उहाँका अनुसार गत असारदेखि समरको भिरमा ब्लास्टिङ गरी पहाड फुटाएर सडक विस्तारको काम भइरहेको छ ।

चैले–भेना खण्डमा पर्ने समरको भिरलाई जोखिमयुक्त मानिएको छ । सो खण्डको १२ किलोमिटर सडक स्तरोन्नतिको काम कान्छाराम कोशी एण्ड न्यौपाने जेभीले पाएको छ । उपल्लो मुस्ताङ भ्रमणमा जाने आउने पर्यटक तथा स्थानीयबासीलाई समस्या नहोस भनेर पुर्व सूचना जारी गरिएको हो ।

जोमसोम–कोरला ११० किलोमिटर सडकलाई ७ खण्डमा विभाजन गरी काम सुरु भएको थियो । सडकको २ पटक म्याद थप भइसकेको छ भने पछिल्लो समय थपिएको म्याद असारमा सकिँदै छ ।

११ मिटर फराकिलो ग्राभेल सडकको ४ खण्डको काम अन्तिम चरणमा छन् । छोसेरदेखि कोरला १६ किलोमिटर सडक गत वर्ष करिडोरलाई हस्तान्तरण भइसकेको थियो । चराङदेखि छोसेर खण्डको काम सुस्त भएकाले अपेक्षा अनुसार सडकको प्रगति नभएको करिडोरले जनाएको छ ।

सो खण्डको स्तरोन्नतिको काम पनि कान्छाराम कोशी एण्ड न्यौपानेले ठेक्का लिएको थियो । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले निर्माण व्यवसायीको ढिलासुस्तिले न्युन मात्र काम भएको बताउनुभयो ।

उपल्लो मुस्ताङमा हिउँदयाममा हिमपात हुने, चिसो शीतलहर छाउने भएकाले पुसदेखि फागुनसम्म काम गर्न सकिँदैन । उपल्लो मुस्ताङमा चिसो बढेकाले मजदुरसमेत अन्यत्र सरेका छन् भने मेशिनले गर्ने काम मात्र भइरहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: