दुई लाख रुपैयाँको मिडियाकर्मी हितकोष स्थापना, मिडियाकर्मी अवार्ड आचार्यलाई

बेनी, ३० कात्तिक । म्याग्दीमा सञ्चारकर्मीहरुको सहयोगका लागि दुई लाख रुपैयाँको मिडियाकर्मी हित कोष स्थापना भएको छ ।

म्याग्दी मिडीया सोसाईटीले शनिबार बेनीमा सम्पन्न तेस्रो सधारणसभाबाट गत वर्ष स्थापित एक लाख रुपैयाँको अक्षयकोषमा यस वर्ष एक लाख रुपैयाँ थप गर्ने निर्णय गरेको हो । ब्याजसहित कोषमा दुई लाख २१ हजार रुपैयाँ रहेको सोसाइटीले जनाएको छ ।

सोसाइटीले सञ्चालन गरेको वृतचित्र निर्माण, सार्वजनिक सुनुवाई र तालिममा प्रशिक्षकको रुपमा सहभागि भएका म्याग्दीका सञ्चारकर्मीहरुले आफूले पाएको रकमबाट संस्थागत रुपमा हितकोष स्थापना गरेका हुन् ।

कोषको ब्याजबाट बिरामी र दुर्घटनामा परेका सञ्चारकर्मीहरुलाई सहयोग उपलब्ध गराउने सोसाईटीका अध्यक्ष कमल खत्रीले बताउनुभयो । यसैगरी सोसाइटीमा आवद्ध १२ जना पत्रकारहरुको स्वास्थ्य बिमा गरिएको छ ।

स्वास्थ्य बिमा वापत चार जनालाई कार्यक्रममा तीन हजार पाँच सय रुपैयाँ वितरण गरिएको थियो । आठ जनालाई बिमा गरेपछि शूल्क संस्थाले तिर्ने निर्णय भएको छ । यसैगरी छ हजार पाँच सय रुपैयाँ राशीको मिडिया सोसाइटी अवार्ड गोरखापत्र दैनिक र नवविकल्प साप्ताहिकका ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ ।

सोसाइटीले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहनका लागि गत वर्षदेखि मिडिया सोसाइटी अवार्डबाट पुरस्कृत गर्न थालेको थियो । दश वर्षसम्म जिल्लामा पत्रकारितालाई मुल पेशा बनाएका संस्थाका सदस्यलाई पुरस्कृत गर्ने संस्थाले जनाएको छ ।

यसैगरी स्थानीय तहको सहयोगमा सोसाइटीद्धारा आयोजित आधारभूत पत्रकारिता तालिममा सहभागि भएर ग्रामिण क्षेत्रबाट सूचना सम्प्रेषणमा भूमिका खेल्नुभएका शिखका सेते तिलीजा पुन र बेगका दलप्रसाद तिलीजालाई सम्मान गरिएको थियो ।

साधारणसभामा गण्डकी प्रदेशका सांसद बिनोद केसीले मोफसलमा पत्रकारिताको विकासका लागि स्थानीय सञ्चार माध्यमको सवलीकरणको आवश्यकतामा जोड दिदै स्रोतको प्रभावमा परेर सुचना र सत्यतालाई लुकाउन नहुने बताउनुभयो ।

म्याग्दीमा विकासका आयोजनामा बजेट पर्याप्त भएपनि परिणाम देखिने गरी काम हुन नसकेको प्रति सञ्चार माध्यमले खबरदारी गर्नुपर्ने सांसद केसीको भनाई थियो । अभिव्यक्ति स्वतन्त्रको नाममा छाडापना हुन नहुने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले जिल्लामा सञ्चालित विकास आयोजनाको ढिलासुस्ति हटाउन, विकृति र बिसंगति न्युनकिरणमा सञ्चार माध्यमको शसक्त भूमिका आवश्यक रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदी र नेपाली काँग्रेस म्याग्दीका सहसचिव भरत रकालले सञ्चार माध्यमको पहुँच विस्तार, विकास निर्माण, सेवा प्रवाहमा निगरानी गर्न आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले मिडियाले तत्थ्यपरक रुपमा विषयको उठान गर्नुपर्ने बताउदै स्थानीय सञ्चार माध्यमको स्रोत व्यवस्थापनमा सहजिकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले पत्रकार र सञ्चार माध्यमसंग समन्वय र सहकार्य आवश्यक भएको बताउदै स्वतन्त्र दंगले स्थानीय सरकारका कामकारबाहीलाई सार्वजनिकरण तथा कमिकमजोरी बाहिर ल्याउन आग्रह गर्नुभयो ।

म्याग्दी काली सञ्चार सहकारी संस्थाका अध्यक्ष प्रमोद श्रेष्ठ, पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्का, सचिव गोरनाथ सुवेदी र उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वगत र सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका प्रदेश सदस्य सन्तोष गौतमले म्याग्दीमा मिडियाको अवस्था र समस्याको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: