बगरमा चित्रकला कार्यशाला

बगर(म्याग्दी), २९ कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरमा रहेको कैलाश आधारभूत विद्यालयमा चित्रकला कार्यशाला सम्पन्न भएको छ ।

दश दिनसम्म सञ्चालन भएको चित्रकला कार्यशालामा २६ जना विद्यार्थीहरु सहभागि भएका थिए । कक्षामा पढाई हुने बाहेकको समयमा विद्यार्थीलाई कार्यशालामा सहभागि गराएर चित्र बनाउन सिकाइएको थियो ।

विद्यार्थीहरुले पहाड, हिमाल, वनजंगल देखि ग्रामिण जिवनशैली झल्काउने आकर्षक चित्र तयार पारेका थिए । कक्षा ५ का मिलन सुनारले यसअघि अरुले किताबमा बनाएको हेरेर चित्र बनाउथे ।

कार्यशालामा सहभागि भएपछि उनले दिमागमा सोचेको विषयलाई चित्रमा उतार्नु वास्तविक चित्रकला भएको बुझेको बताउनुहुन्छ । कक्षा ३ का मिठास सुनारलाई कार्यशाला चलिञ्जेल ४ बजेको छुट्टी भएपनि साँझसम्म घर जान मन लागेन् । ‘पहिले हेरेर चित्र बनाउथे, अहिले सोचेर बनाउन थाले’ मिठासले भन्नुभयो ।

उनिहरुले कलर र पेन्सील बाहेक अरु स्रोत को पनि प्रयोग गरेर चित्र बनाउने ज्ञान पाए । खोलाको ढुङ्गालाई काठमा जोडेर घर, मन्दिर, गाइबस्तुको आकर्षक चित्र बनाउन सिके । धेरै जसोले गाउँको प्राकृतिक सुन्दरतालाई चित्रमा उतारेका थिए ।

उनिहरुलाई कला कुशा संस्थाका सुभद्रा मर्हजन, योगेश अवाली र रगेन्द्रमान श्रेष्ठले चित्रकला सिकाउनुभएको थियो । कार्यशालामा सहभागि हुन धौलागिरि हिमालको फेदीमा रहेको बगर गाउँ पुगेका उनिहरु त्यहाँको प्राकृतिक सौन्दर्यले प्रभावित भएको बताउनुभयो ।

‘विद्यार्थीलाई किताब र अरुले बनाएका हेरेर होइन दिमागमा आएको चित्रलाई पानामा कोरेर चित्र बनाउनुपर्छ भन्ने भावनाको विकास गराउन कार्यशाला चलाएका हौ,’ मर्हजनले भन्नुभयो ‘यहाँको वातावरण र प्राकृतिक सौन्दर्यले हामीलाई पनि मोहित तुल्यायो ।’

अमेरिकाको गिभ पावर संस्थाको सहयोगमा उनिहरुले यसअघि काठमाडौ भ्याली बाहिर सिन्धुपाल्चोक पनौति, पोखरा र नवलपरासीका साथै म्याग्दीको टिकोट र नांगीमा पनि चित्रकला कार्यशाला गरेका थिए ।

विद्यार्थीले बनाएको चित्रकला गाउँमा आउने पर्यटकलाई बिक्री गर्न सकिने कैलाश आधारभूत विद्यालयका प्रअ धनबहादुर पुर्जाले बताउनुभयो । विद्यार्थीमा कलाको विकास, गाउँको कलालाई प्रचारप्रसारका साथै विद्यार्थीलाई आयआर्जनमा पनि सहयोग पुग्ने उहाले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: