जन्मदिनको अवसर पारेर बालगृहलाई सहयोग

बेनी, २९ कात्तिक । बेनीमा नेपाल बाल संगठनले सञ्चालन गरेको म्याग्दी बालगृहलाई अमेरिकामा रहेकी एक परिवारले शुक्रबार खाद्यान्न सहयोग गरेका छन् ।

बेनीको इन्द्रेणीटोलकी रितुमा बानिया पौडेल र उहाँका श्रीमान सुदर्शन पौडेलले रितुमाको जन्मदिनको अवसर पारेर सात हजार एक सय रुपैयाँ मूल्य बराबरको चामल, दाल, चिया, चिनि, सावुन, चाउचाउ, मसला उपलब्ध गराउनुभएको हो ।

अमेरिकामा बस्दै आएकी रितुमाका बुवा गोपाल बानिया र आमा गंगा बानियाले नेपाल बाल संगठनका सभापति नेत्रबहादुर महत मार्फत बालगृहका कर्मचारीहरुलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।

बालगृहमा रहेका १३ जना अनाथ बालबालिकालाई लड्डु समेत खुवाइएको थियो । नेपाल बाल संगठन म्याग्दीका कोषाध्यक्ष जयन्द्र श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा सभापति महतले बालगृहको क्षमता बढाउन तीन कोठे नयाँ भवन बनाउन लागिएको जानकारी दिनुभयो ।

बेनी नगरपालिकाले यस वर्ष पाँच लाख रुपैयाँ बिनियोजन गरेको भवन निर्माण सम्पन्न गर्न ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । तीन लाख रुपैयाँ जुटाउन दाताको खोजी गरिएको छ । धौलागिरि क्षेत्रको एकमात्र म्याग्दी बालगृहमा बालगृहको चाप बढेपनि क्षमता नहुँदा राख्न नसकिएको सभापति महतले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: