निउरेको घर फिर्तीका लागि पहल

बेनी, २६ कात्तिक । साउदीको जेलमा रहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि पहल थालिएको छ ।

निउरेका आफन्त, सरकारी निकाय र प्रवासी म्याग्देलीहरुले श्रम र परराष्ट्र मन्त्रालयबाट आवश्यक प्रक्रिया पुरा गरि ब्लड मनि (क्षतिपुर्ति)को रकम संकलन गर्न पहल गरेका हुन् ।

२०६८ जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै छन् ।

निउरेले कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेको वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेपछि जेलमा छन् ।

२०७० सालदेखि अबैध रुपमा कम्पनीमा काम गदैं आइरहेका निउरे सोहीबर्ष जेलमा परेका थिए । कानुनी तथा मृतकका परिवारले माग गरेको ब्लड मनी संकलन हुन नसक्दा निउरे नेपाल फर्किन समस्या भएको हो ।

राजकुमारकी दिदी पुनम खत्रीले तीस लाख रुपैया ब्लड मनि माग गर्दै आएका वस्तीका परिवार बीस लाख रुपैयाँमा सहमत भएका र सो रकम जुटाउनका लागि सहयोगको अपिल गर्नुभएको छ ।

‘सरकारी निकाय र वस्तीका परिवारसंग छलफल गरेर ब्लड मनिको रकम घटाउन र कागजी प्रक्रिया पुरा गराउदैछौ,’ खत्रीले भन्नुभयो ‘वस्तीका परिवारलाई क्षतिपुर्ति दिएपछि मात्र घर फिर्तीको प्रक्रिया अघि बढ्ने भएकाले जति सक्दो छिटो रकम जुटाउनुपर्ने भएको छ ।’

सहयोगका लागि सिद्धार्थ बैङ्कको गोगंबु शाखामा राजकुमारकी आमा हरिमाया निउरेको नाममा ०१६१५५१८५६७ नम्बरको खाता खोलिएको छ । सामाजिक सञ्जालमा ग्रुप च्याट बनाएर आर्थिक सहयोग जुटाउने अभियान चलाइएको छ ।

स्वदेश तथा विदेशमा रहेका दिच्यामका बासिन्दाहरु अभियानमा जुटेका छन् । काठमाडौमा रहनुभएका बलभद्र ढकालको अगुवाइमा श्रम र परराष्ट्र मन्त्रालय मार्फत निउरेको घर फिर्तीका लागि पहल गरिएको दिदी खत्रीले बताउनुभयो ।

तोकिएको सजायभन्दा १ बर्ष धेरै भइसक्यो । पीडितलाई क्षतीपूर्ति नदिए जेलमै बस्नुपर्छ । ऋण खोजेर साउदी पुगेका निउरेका बारेमा नेपालीले परिवारलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

जेल परेको पाँचबर्षपछि मात्रै परिवारको सम्पर्कमा आएका निउरेले आफ्नो गल्ती नभएपनि घाईते अवस्थामा अस्पतालमा पु¥याउँदाको प्रमाणलाई नै आधार बनाएर दोषी देखाएको बताउनुभएको छ । ‘साथीहरूलाई जोगाउन खोज्दा आफै फसे,’ निउरेले भन्नुभएको छ ‘सबैको सहयोग भएमा जेलबाट मुक्त हुन्छु ।’

बुवा दधिलाल निउरेले छोराको गल्ती नभएपनि जेलमा बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न आर्थिक सहयोगको याचना गर्नुभएको छ । निउरेका परिवारको कमजोर आर्थिक अवस्था भएका कारण उनिहरुले सो रकम जुटाउन सकेका छैनन् ।

एउटै कम्पनीमा कार्यरत मोरङकै रमेश वास्तकोटीले निउरेको गल्ती नभएको बताएपनि प्रयाप्त प्रयासको अभावमा जेलमा परेको जानकारी घरपरिवारलाई दिएका थिए । वास्तकोटीकै जानकारीका आधारमा परिवारले खोजीकार्य सुरू गरेको थियो । आवश्यक कागजी प्रक्रियाका लागि गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन, निजी सचिव चन्द्रमणी सापकोटालाई मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले पहल गर्नुभएको थियो ।

मृतकका परिवारले सुरुवातमा ६० लाख माग गरेपनि मन्त्री पुनका निजी सचिव सापकोटासँगै काम गरेका आफन्तको पहलमा ३० लाख उपलब्ध गराउने सहमति भएको थियो । सहमति अनुसार ब्लड मनी दिएको बैंक विवरण, कानुनी प्रक्रिया र पीडित परिवारको सहमतिको विवरण साउदी पठाएपछि मात्रै निउरेको घर फिर्र्ति प्रक्रिया सुरु हुने जनाइएको छ ।

बुबा, आमा, श्रीमति घरमै छन् । घरको अवस्था नाजुक भएकाले सम्झौता अनुसारको यति धेरै रकम परिवारले तिर्न सक्ने अवस्था नै छैन् । आमा हरिमायाा निउरेले समेत आफन्त र चिनजानका मान्छेलाई याचना गर्ने गर्नुभएको छ ।

मृतकका परिवारसँगको सहमति अनुसार २० लाख उपलब्ध गराएको प्रमाण सहित साउदीमा कागजात पेश गरे उनलाई घर फर्किन सहज हुन्छ । साउदीमा ब्लड मनी (क्षतीपूर्ति) लाई पीडित पक्षको पहिलो अधिकारको रुपमा ब्याख्या गर्ने गरिन्छ । उक्त रकम उपलब्ध गराउन नसके जीवनभर जेलमै बस्नुपर्छ ।

पीडित पक्षको सहमति अनुसारको रकम उपलब्ध गराएमा निउरेलाई जेलमुक्त गर्न सकिने साउदीको कानुन छ । मृत्युदण्डको सजाय पाएकाले समेत ब्लड मनी (क्षतीपूर्ति) उपलब्ध गराए सजाय मिनाह हुने प्रावधान रहेको साउदीमा निउरेलाई तोकिएको सजाय भुक्तान भइसकेको अवस्थामा सहयोग जुटाउन सकेमा घर फिर्ती सहज हुने त्यहाँ रहेका म्याग्देलीको भनाई छ ।
मृतकका परिवारले अन्तिम सहमति अनुसारको रकम ल्याएमा प्रक्रियामा सघाउने बताइररहेका छन् । रकम जुटाउन म्याग्दी प्रवासी नेपाली संघ मोनाले पनि अभियान चलाउने निर्णय गरेको जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: