सिमा समस्या समाधानका लागि कुटनीतिक पहल गर्न माग

बेनी, २५ कात्तिक । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले भारतसंगको सिमा समस्या समाधानका लागि कुटनीतिक पहल थाल्न माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउदै हालै भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भुगोल कालापानी, लिपुलेक र लिम्पयाधुरा समेटिएको विषयमा सरकारको ध्यानाकर्षण गराएको हो । सरकारलाई दवाव दिन आन्दोलनमा उत्रिएका आफ्ना नेता कार्यकर्ताको बिनाशर्त रिहाइको समेत माग गरेका छन् ।

नेपाली भूगोललाई भारतको नक्सामा समावेश गरिएकोमा आपत्ति जनाउदै कुटनीतिक पहल गरेर नक्सा सच्चाउन नेविसंघ र तरुण दलले माग गरेका छन् । नेपाली काँग्रेस म्याग्दीका सहसचिव भरत रकालको नेतृत्वमा प्रशासनमा पुगेका नेविसंघ र तरुण दलका कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई ज्ञापनपत्र बुझाएका थिए ।

गत हप्ता भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुगोल समेटिएको विषयमा सर्वत्र बिरोध भएका छ । राजनीतिक पार्टीहरु नेपालको सिमाना मिच्न दिन नहुनेमा समान धारणा बनाई सरकार मार्फत कुटनितिक पहल गर्ने तयारीमा जुटेका छन् । सरकारले पनि कालापानी, लिपुलेक र लिम्पयाधुरा नेपालकै भएको स्पष्ट पारेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: