प्राबिधिक टोलीद्धारा चराङ विमानस्थलको डिपिआर बनाउन अध्ययन

जोमसोम, २५ कात्तिक ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न सर्वेक्षण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राबिधिक टोली पठाएर विमानस्थलको डिपिआर तयार पार्न सर्वेक्षण गरेको हो । परामर्शदाता कम्पनी आइएफआइडी नेपालका इञ्जिनियर नरेश शिवाकोटीको नेतृत्वमा आएको प्राबिधिकको टोलीले तीन दिनसम्म प्रस्तावित विमानस्थलको सर्वेक्षण गरेको छ ।

समुन्द्री सतहदेखि तीन हजार पाँच सय मिटरको उचाइमा अवस्थित सिकलीङ थाङ्का र ढुथाङको फाँटमा सर्वेक्षण गरिएको गाउँपालिकाका अध्यक्ष राजु बिष्टले जानकारी दिनुभयो । प्रस्तावित ठाउँको भौगोलिक अवस्थिति, सम्भाव्यता, क्षेत्रफल र प्राबिधिक विषयमा सर्वेक्षण गरिएको हो ।

“यसअघि गत वर्ष पर्यटन मन्त्रालयको टोलीले प्रारम्भिक सर्वेक्षण गरेको थियो” गाउँपालिकाका अध्यक्ष बिष्टले भन्नुभयो “यसपालि डिपिआर बनाउने हिसाबले मन्त्रालयले अध्ययनका लागि प्राबिधिक पठाएको हो ।” दुई किलोमिटर भन्दा लामो दुरीको समथर फाँट भएकाले विमानस्थलको रनवेका लागि उपयुक्त हुने बताइएको छ ।

प्रतिवेदन तयार पार्न तीन महिना भन्दा बढी समय लाग्ने टोलीले जनाएको छ । यही कात्तिक ११ गते संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइ सहितको टोलीले चराङको निरिक्षण गर्नुभएको थियो ।

मन्त्रीले निरिक्षण गरेर गएको दुई हप्तामै डिपिआर बनाउन प्राबिधिक टोली खटिएका हुन् । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर चराङमा विमानस्थल बनाउन चुनावमा गरेको गरेको प्रतिवद्धता अनुसार पहल गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

“अनुकुल भुगोल र पर्याप्त जग्गा भएका आधारमा चराङमा विमानस्थल निर्माण गर्न सकिन्छ” सांसद तुलाचनले भन्नुभयो “दामोदर कुण्डमा भक्तजन, उपल्लो मुस्ताङमा पर्यटक भित्र्याउन तथा जनजिवनलाई सहज बनाउन विमानस्थलले सहयोग पु¥याउनेछ ।”

जोमसोम हुदै सडक मार्ग भएर उपल्लो मुस्ताङ भ्रमणमा जान धेरै समय लाग्ने र यातायातको सहज सुबिधा नभएकाले पर्यटकहरुलाई समस्या भएको छ । कलात्मक पहाड, उजाड मरुभूमी जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जिवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहाँसिक महत्वका दरवार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङको पर्यटकीय आकर्षण हो ।
उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि हवाइ सेवा आवश्यक भएको गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टको भनाई छ । सरकारले पर्यटन विकासका लागि विमानस्थल निर्माण र उत्तरी कोरलानाका खोल्न सडक विस्तार गरिरहेको बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: