सुआहाराको गतिबिधि र योजना सार्वजनिक

बेनी, २४ कात्तिक । म्याग्दीमा सञ्चालित बहुक्षेत्रीय एकिकृत पोषण कार्यक्रम (दोस्रो चरण) अन्तरगत भएको गतिबिधि र योजनाको बारेमा आइतबार सरोकारवालाहरुलाई जानकारी गराइएको छ ।

बेनीमा भएको परियोजना सल्लाहकार समितिको बैठकमा गैरसरकारी संस्था मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले आर्थिक वर्ष २०७५÷७६ मा गरेका र आर्थिक वर्ष २०७६÷७७ मा गर्न लागेका कामको बारेमा जानकारी गराइएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा मिलन म्याग्दीका फिल्ड संयोजक गरिमा पुनले गतिबिधि र योजनाको बारेमा जानकारी गराउनुभएको हो ।

स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धीका लागि पुनताजकी, स्वास्थ्य संस्थाहरुलाई उपकरण सहयोग, घरभेट, पोषिला खानेकुराका प्रर्दशनी, सिघ्र कुपोषित बच्चाहरुको उपचार लगायतका गतिबिधि भएका जानकारी दिनुभयो ।

१३ वटा स्वास्थ्य चौकीमा सुआहारा र चिमखोलामा रघुगंगा गाउँपालिकाले कुपोषित बच्चाको उपचारका लागि पोषण पुनस्थापना गृह स्थापना गरेको र ३५ जना कुपोषित बच्चाहरुको उपचार गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमलाई प्रभावकारी बनाउन छ वटै पालिका र ३९ वटा वडामा पोेषण तथा खाद्य सुरक्षा निर्देशक समिति, बेनी नगरपालिका, मालिका र अन्नपूर्ण गाउँपालिकामा कृषक समूह गठन भएको जानकारी गराइएको थियो ।

गत वर्ष एक करोड ३४ लाख रुपैयाँ बजेट आएकोमा एक करोड २१ लाख रुपैयाँ खर्च भएको थियो । यस वर्षका लागि ९४ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । स्थानीय तहहरुले पोषण सम्बन्धी विषयलाई योजनामा समावेश गर्न थालेका छन् ।

जिल्ला समन्वय समितिका चित्रनाथ शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख प्रकाश शर्माले सरकारी निकायसंग समन्वय गरेर वस्ति स्तरमा प्रभावकारी रुपमा कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिनुभयो । मिलन म्याग्दीका अध्यक्ष बिनय श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: