पश्चिम दरवाङमा दुई सहकारी गाभिए (फोटो फिचर )

दरवाङ, २३ कात्तिक । म्याग्दीको पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थामा दुई वटा सहकारी संस्था गाभिएका छन् ।

संस्थाको शनिबार दरवाङमा भएको बाहै वार्षिक साधारणसभाबाट मंगला गाउँपालिका–२ बाबियाचौरको प्रभु बचत तथा ऋण र अन्नपूर्ण गाउँपालिकाको शिख बहुउद्देश्यीय सहकारी संस्था औपचारिक रुपमा पश्चिम दरवाङमा गाभिएका हुन् ।

समान उद्देश्य भएका सहकारी संस्थाहरुसंग एकिकरण गर्दै कार्यक्षेत्र विस्तार गर्ने नीति लिएको पश्चिम दरवाङ सहकारीमा गत फागुनमा बाबियाचौर बहुउद्देश्यिय, सिंगा उपभोक्ता, बेनीको कामना बचत तथा ऋण र फुलबारी बचत तथा ऋण सहकारी संस्था गाभिएका थिए ।

दरवाङ र पश्चिम दरवाङ बचत तथा ऋण सहकारीको गत वर्षको असोजमा एकिकरण भएको थियो । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट म्याग्दी जिल्ला भर कार्यक्षेत्रको अनुमति पाएको पश्चिम दरवाङले रघुगंगा गाउँपालिकामा पनि सेवा केन्द्र विस्तार गर्ने तयारी गरेको छ ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रधान कार्यालय रहेको सहकारीको धवलागिरी गाउँपालिकाको ताकम, मंगलाको बाबियाचौर, बेनी नगरपालिकाको तातोपानी र बेनी तथा अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सेवा केन्द्र स्थापना गरेको छ ।

दुई हजार ७१० जना सेयर सदस्यको छ करोड ३६ लाख ५९ हजार रुपैयाँ सेयर पुँजि रहेको सहकारीले गत आर्थिक वर्षमा ४३ करोड २० लाख ७५ हजार ३१२ रुपैयाँ कारोबार गरेको प्रबन्धक प्रेमलाल कडेल (सदन)ले बताउनुभयो ।

तेत्तिक करोड सात लाख ३१ हजार १०० रुपैयाँ बचत र ३४ करोड सात लाख ८४ हजार ७०१ रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको खुद मुनाफा एक करोड २५ लाख ४३ हजार ४२४ रुपैयाँ छ ।

सहकारीले बचत, ऋण लगानीका साथै एसएमएस, मोवाइल, डिसहोम, टेलिफोन बिल रिचार्ज, विद्युत महशुल र रेमिटेन्स भुक्तानीको सेवा दिदै आएको छ । व्यवसायिक गाईभैसी पालन गर्ने सेयर सदस्यहरुलाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ । संस्थामा २२ जना कर्मचारी कार्यरत छन् ।

संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गर्नुभएका सचिव हरिप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष कृष्ण आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाबाट सञ्चालक समितिका एक जना पदाधीकारी परिवर्तन र दुई जना थप भएका छन् ।

गाभिएको प्रभु बचतका श्रीराम पौडेल सहसचिव, मोतीलाल पौडेल र भिमप्रसाद आचार्य सञ्चालक समितिको सदस्यमा चयन हुनुभएको छ । यसअघि ११ जनाको सञ्चालक समिति रहेकोमा १३ सदस्यीय बनाइएको छ ।

सेवा केन्द्र सञ्चालन नीति र छात्रवृत्ति वितरण कार्यबिधि तथा निर्देशिका पारित भएको छ । सेयर सदस्यका छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति र सेयर सदस्यलाई सहयोगका लागि विपद् व्यवस्थापन कोष स्थापना हुने भएको छ ।

प्रमुख अतिथि मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले धेरै सहकारी सहरबाट गाउँ पस्ने गरेकोमा पश्चिम दरवाङ गाउँबाट बजार पसेको उल्लेख गर्दै उत्पादनशिल क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव दिनुभयो ।

युवाहरुलाई सहज र सरल रुपमा ऋण लगानी गर्ने, बचतमा आकर्षित गराई उद्यम व्यवसाय गर्न सहयोग गरि विदेशीनुपर्ने बाध्यता कम गराउन आग्रह गर्नुभयो । ‘सहकारीहरुले आफ्नो उद्देश्य र नीति भन्दा बाहिर गएर चल्नुहुदैन,’ अध्यक्ष रोकाले भन्नुभयो ‘उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा सहकारीले प्राथमिकता दिनुपर्ने अवस्था आएको छ ।’

उपाध्यक्ष खरमाया बिटालुले सहकारी बचत र ऋणमा मात्र सिमित नभई सामाजिक परिवर्तन र उद्यमशिलताको विकासमा पनि भूमिका खेल्नुपर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष रोका र सहकारीका अध्यक्ष सुरेन्द्र शर्माले सहकारीको इतिहाँस समेटिएको स्मारिका सफल पाईलाको विमोचन गर्नुभएको थियो ।

उपाध्यक्ष भिमप्रसाद गौतमले स्वागत गर्नुभएको कार्यक्रममा धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष चन्द्रकुमार केसी, मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्षहरु मोतिराज गौतम र अमृता भण्डारीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका प्रबन्धक प्रेमलाल कडेल, सिनियर कर्मचारी सन्तोष शर्मालाई संस्था एकिकरणमा योगदान गरेवापत र बेनी शाखाकी लोकमाया थजालीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान तथा पुरस्कृत गरिएको थियो । दिलसुन्दर अधिकारी, वुद्धिबहादुर जुग्जाली र गंगा बुढालाई उत्कृष्ट कारोबारीको सम्मान प्रदान गरिएको थियो ।

संस्थाका पूर्व अध्यक्ष र सञ्चालकहरुलाई सम्मान गरिएको थियो । सेयर सदस्य चन्द्रकुमार केसीलाई अंगदान गरेर मानवीय सेवाको नमुना प्रस्तुत गरेकोमा नगद पाँच हजार १०० रुपैयाँ सहित सम्मान गरिएको थियो । पुरस्कार पाएको रकममा एक हजार रुपैयाँ थपेर केसीले स्थापनाको क्रममा रहेको धौलागिरी गाउँपालिका अनाथ, अपाङ्ग, गरिब विद्यार्थी शिक्षा कोषका लागि ताकम माविका प्रअ ओमकार पौडेललाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: