तेस्रो उत्साही कपको आम्दानी खर्च विवरण सार्वजनिक

बेनी, २३ कात्तिक । जलजला गाउँपालिका–३ पर्वत बेनीमा तिहार पर्वको अवसरमा कात्तिक ७ देखि ११ गतेसम्म सञ्चालन भएको तेस्रो उत्साही कप फाईभ ए साइड फुटबल प्रतियोगिताको आम्दानी खर्च विवरण शनिबार सार्वजनिक गरिएको छ ।

प्रतियोगिता आयोजक नव उत्साही समूहले पर्वत बेनीमा एक कार्यक्रमको आयोजना गरेर आम्दानी खर्च विवरण सार्वजनिक गर्नुका साथै सहयोगदाताहरुलाई सम्मान गरेको हो ।

समूहका उपाध्यक्ष तथा प्रतियोगिताका आर्थिक संयोजक आशिष भुजेलले नाम दर्ताबाट ८० हजार र सहयोग रकम पाँच लाख पाँच हजार ६६२ रुपैयाँ जुटेको बताउनुभयो ।

तीन लाख २६ हजार ८२७ रुपैयाँ खर्च र दुई लाख ५८ हजार ८३५ रुपैयाँ बचत भएको उहाँले जानकारी दिनुभयो । बचत मध्य सहयोग घोषणा भएको दुई लाख २८ हजार ८६६ रुपैयाँ उठ्न बाँकी छ ।

समूहका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षता र सचिव राजकुमार परियारको सञ्चालनमा भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष दिलीप बरुवाल र न्यु होराइजन आवासीय माविका प्रिन्सीपल अर्जुन पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष श्रेष्ठले मितव्ययी रुपमा प्रतियोगिता सञ्चालन गरेर बचत भएको रकम सामाजिक काममा परिचालन गरिने बताउनुभयो । ४० समूहले सहभागिता जनाएको प्रतियोगिता न्यु होराइजन आवासीय माविको खेलमैदानमा सञ्चालन भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: