मल्लाजमा निशूल्क आँखा शिविर आयोजना

बेनी, २३ कात्तिक । जलजला गाउँपालिकाको मल्लाजमा आगामी मंसिर १, २ र ३ गते निशूल्क आँखा उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।

लायन्स क्लव अफ बेनी मल्लाजको शनिबार पर्वत बेनीमा बसेको तेस्रो बैठकले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिविरको तयारीका लागि तुलसीराम रेग्मीको संयोजकत्वमा एक समिति गठन भएको छ । विभिन्न उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको छ । मल्लाजको कोतघर परिसरमा आँखा परिक्षण र मल्लाज स्वास्थ्य चौकिमा शल्यक्रिया शिविर सञ्चालन गरिने क्लवका महासचिव शिव जिसीले बताउनुभयो ।

आँखा सम्बन्धी समस्या भएका बिरामीलाई गाउँमै उपचार सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको क्लवका अध्यक्ष दिनेश बानियाले बताउनुभयो । उहाँका अनुसार शिविरमा कम्तीमा बीस जना मोतिया बिन्दुका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य छ ।

आँखा परिक्षण, परामर्श, मोतियाबिन्दुको शल्यक्रियाका साथै निशूल्क चश्मा वितरण गरिने भएको लायन्स क्लवका जोन चियर पर्सन दिलीप बरुवालले बताउनुभयो । बैठकले शिविरलाई सफल बनाउन सक्रियतापुर्वक तयारीमा जुट्ने निर्णय गरेको छ ।

शिविरबाट जलजला गाउँपालिकाको बाँसखर्क, माझफाँट, लेकफाँट, शालिजा, धाइरीङ, बनौ, नाग्लीवाङ, म्याग्दीको नांगी राम्चे, बेनी र आसपासका बिरामीहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको हो । लायन्स क्लवले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: