निउरेको घरफिर्तीका लागि मोनाले अभियान चलाउने

बेनी, २३ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) आइसीले साउदी अरबको जेलमा रहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि अभियान चलाउने भएको छ ।

मोना आइसीको शुक्रबार बसेको अनलाइन बैठकले हत्याको आरोपमा ६ वर्षदेखि साउदी जेलमा रहेका निउरेको घर फिर्तीका लागि ब्लड मनि वापतको रकम जुटाउन सहयोग संकलन अभियान चलाउने निर्णय गरेको हो ।

आर्थिक सहयोग जुटाउन उपाध्यक्ष आशा पाइजाको संयोजकत्वमा सचिव रमेश पौडेल र कोषाध्यक्ष मुक्ति रोका सदस्य रहेको तीन सदस्यीय समिति गठन भएको महासचिव बिक्रम कार्कीले जानकारी दिनुभयो ।

२०६८ जेठ २ गते साउदी अरबमा पुगेको निउरे मोरङको कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँच वर्षे कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनि (क्षतिपुर्ति) तिर्न नसक्दा जेलभित्रै रहेका छन् ।

मृतकका परिवारले तीस लाख नेपाली रुपैयाँ माग गरेका छन् । निउरेको परिवारको आर्थिक अवस्था कमजोर छ । निउरेको घर फिर्तीका लागि काठमाडौमा बलभद्र ढकालले कागजी प्रक्रिया पुरा गराउन पहल गर्नुभएको छ ।

बैठकमा मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले विश्वभर रहेका म्याग्देलीहरु माझ मोनाको गतिबिधि विस्तार गर्ने, घोषणापत्रको कार्यान्वयन, संस्थाका गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: