बेनीको दाना, एग्रोभेट र भेटेरिनरीको अनुगमनमा यस्तो भेटियो

बेनी, २२ कात्तिक । बेनीमा सञ्चालित एग्रोभेट, भेटेरीनरी औषधी र दाना पसलको शुक्रबार अनुगमन गरिएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अगुवाइमा जिल्ला प्रशासन, प्रहरी, जिल्ला समन्वय समिति, बेनी नगरपालिका, घरेलु तथा साना उद्योग विकास समितिका प्रतिनिधिहरुको टोलीले बजारका छ वटा दाना, पशुपंक्षिको औषधी र एग्रोभेटको अनुगमन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको सहभागितामा सम्बन्धित कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका कमजोरी सुधारका लागि पसल सञ्चालकलाई निर्देशन दिइएको भेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुशुमले बताउनुभयो ।

घरेलु तथा साना उद्योग विकास समिति र पशुपक्षिको औषधि बिक्रीका लागि अनुमति दिने औषधि व्यवस्था विभागबाट स्वीकृति नलिइ सञ्चालन भएको न्युरोडको धौलागिरी एग्रोभेटमा म्याद नाघेका बिउ र बिषादी समेत बरामद गरिएको उहाँले बताउनुभयो ।

यसैगरी गुञ्जन एग्रोभेटमा बिषादी, मल र विउ एकै ठाउँमा अव्यस्थित रुपमा राखेकाले सुधार गर्न निर्देशन दिएको छ । न्यू धौलागिरि एग्रोभेटमा बिक्रीका लागि राखिएका म्याद नाघेका बिउ र बिषादी बरामद भएको छ । सापकोटा भेटेरीनरी सेन्टरमा भने मापदण्ड अनुसारनै सञ्चालन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

कालीपुलमा सञ्चालित दाना पसलहरु पनि अव्यवस्थित भएको अनुगमन टोलीको निष्कर्ष छ । खाद्यान्न पसलको अनुमति लिएर दाना पसल सञ्चालन गरेका रखार ब्रर्दशका सञ्चालकलाई व्यवसाय अनुसारको पसल दर्ता गर्न निर्देशन दिएको छ ।

अन्य पसलहरुको अनुगमनलाई पनि निरन्तरता दिइने र सुधार नगरे कानुनी कारबाही अघि बढाउने प्रजिअ ढकालले बताउनुभयो । औषधि र विषादीको जथाभावी रुपमा प्रयोग बढेको, कम गुणस्तरको विउ बिक्री भएको, तोकिएको भन्दा बढी मूल्य लिने गरेको जस्ता गुनासो बढेपछि अनुगमन गरेको भेटेरीनरी अस्पतालले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: