जलजलाको डिपिआर तयार पारिने (फोटो फिचर )

सन्तोष गौतम
बेनी २२ कात्तिक । जलजलालाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ । जलजला क्षेत्र पूर्बाधार, प्रचारप्रसार र खोज अनुसन्धानको कमीका कारण ओझेलमा परेको छ ।

जलजला गाउँपालीकाले ऐतिहासिक, धार्मिक, पर्यटकीय र जैवीक बिबिधताको खोज अनुसन्धान गरी पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न लागेको जनाएको छ ।

पहिलो चरणमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, प्रतिनिधिसभा सदस्य पदम गिरि, उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्साल, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेल लगायत सरोकारवालाहरुको जलजलामा उच्च स्तरीय भ्रमण गरिएको छ ।

जलजला र मोदी गाउँपालिकाको संयुक्त आयोजनामा बिहीबार जलजलाको अवस्था र सम्भावनाको विषयमा सरोकारवालाहरुको भ्रमण तथा अन्तरक्रिया गरिएको जलजलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

समुन्द्रि सतहदेखि तीन हजार मिटरको उचाइमा पहाडको टाकुरामा समथर भुगोल र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ । जलजला गाउँपालिकाको नाम यसैबाट नामाकरण भएको छ ।

हिन्दु धर्मावलम्बीहरुको धार्मिक ग्रन्थ रामायणमा कालञ्जर पर्वतको रुपमा ब्याख्या गरिएको जलजला क्षेत्रको धेरै भुभाग जलजला गाउँपालीकाको ५ लेकफाँट र ६ शालीजामा फैलीएको छ । पर्वतको सबैभन्दा उच्च स्थान जलजलाबाट हिमशृङखला, सुर्योदय, सुर्यास्त र पहाडी भुगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ भन्दा बढी हिमाल, पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ जिल्लाको अवलोकन गर्न सकिन्छ ।

लालीगुराँसको जंगल रहेको जलजलामा पोखरी आकारको ठूलो फाँट रहेको छ । त्यहाँ बाँध बाँधेर तलाउ बनाउने विषयमा सम्भाव्यता अध्ययन गरिने भएको छ । तलाउ बनाएमा जलजलालाई थप आकर्षक स्थल बनाउने योजना छ ।

हनुमानले यही क्षेत्रबाट जडिुवटी लगेर औषधी उपचारमा प्रयोग गरेको धार्मीक ग्रन्थ रामणयमा उल्लेख छ । निरमसी, पाँचऔलो सतुवा लगायत बहुमूल्य जडिवुटीहरु प्रशस्त पाईने जलजला क्षेत्रको जंगलमा मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालीज लगायत पशुपंक्षीको बसोबास छ ।

मातातिर्थ औसीका दिन दिवंगत बुवा आमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पुजाआजाका लागि शंकर भगवानको मन्दिर बनाइएको छ । भक्तजन र पर्यटकलाई पदमार्ग, खाने बस्ने होटल तथा लजको अभाव छ ।

जलजलाको धार्मीक, पर्यटकीय र जैविक बिबिधताको सम्भावनाको अनुसन्धान, संरक्षण तथा प्रर्वद्धनका लागि पहल सुरु गरिएको जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताउनुभयो ।

उच्च स्तरीय भ्रमण टोलीमा सहभागि हुनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले जलजला पर्वतको मात्र नभएर देशकै पहिचान भएकाले यसको महत्व तथा बिशेषताको बारेमा प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

जलजलाको पर्यटन विकासका लागि आवश्यक पहल र सहयोग गर्ने अध्यक्ष तिमिल्सीनाले प्रतिवद्धता जनाउनुभयो । प्रतिनीधिसभा सदस्य पदम गिरी, उद्योग वन तथा पर्यटन मन्त्री विकास लम्सालले तीनै तहका सरकारको साझेदारी तथा म्याग्दी र कास्की जिल्लासंग समन्वय गरेर जलजलालाई पर्यटकीय गन्तब्य बनाउनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष मल्लले जलजलामा सडक र पदमार्गले जोड्न डिपिआर तयार पारेर यसै बर्ष काम सुरु गरिने बताउनुभयो । उहाँका अनुसार यस वर्ष गाउँपालिका, प्रदेश र संघीय सरकारले जलजलाको लागि बीस÷बीस लाख रुपैयाँ बजेट बिनियोजन गरेका छन् ।

शालीजाको तारे हुदै जलजलासम्म सडक र पदमार्ग पु¥याउने योजना अघि सारीएको छ । अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग अन्तरगत पर्ने जलजलामा पर्वतको लेकफाँट, शालीजा, लेसपार, म्याग्दीको नांगी, घोडेपानी, मोहरेडाँडा र कास्कीको उल्लेरी हुदै जलजला पुग्न सकिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: