शिखका लाभग्राहीलाई गाउँमै सामाजिक सुरक्षा भत्ता

पोखरेबगर, १९ कात्तिक । अन्नपूर्ण गाउँपालिका–५ शिखका लाभग्राहीहरुलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

गरिमा विकास बैङ्कको पोखरेबगर शाखाले शिख देउराली स्थित वडा कार्यालय परिसरबाट जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई भत्ता वितरण गरेको हो । चालु आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका लागि अन्नपूर्ण गाउँपालिकाले गरिमा बैंकमा लाभग्राहीले खोलेका खातामा रकम पठाएको थियो ।

सो रकम लाभग्राहीको सहजताका लागि वडा कार्यालयमा पुगेर जनप्रतिनिधि र प्रहरीसंग समन्वय गरेर वितरण गरेको शाखा प्रबन्धक श्याम थापाले बताउनुभयो । ११९ जनालाई १९ लाख ९७ हजार रुपैयाँ वितरण गरिएको थियो ।

गाउँमै भत्ता पाएपछि पोखरेबगर सम्म पुग्ने समय र गाडी भाडा बचत भएको छ । जान आउने, लाइन बस्नुपर्ने झञ्जट हटेको छ । भत्ता बुझ्न लाभग्राही एकै पटक शाखामा आउँदा भिड हुने र पालो पर्खनुपर्ने हुन्छ । गाउँमै सामाजिक सुरक्षा भत्ता पाउँदा जेष्ठ नागरिक, अशक्त र असाहयहरुलाई राहत मिलेको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित, पारदर्शी बनाउन बैङ्क खाताबाट भत्ता वितरण गर्ने नीति लिएको छ । अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडामा बैङ्क मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । गरिमा विकास र प्रभु बैङ्कको पोखरेबगर शाखालाई वडा विभाजन गरेर सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लगाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: