घुम्तिमा धेरै दुर्घटना

बेनी, १८ कात्तिक । मालिका गाउँपालिका–७ बिमको गलघण्टीको घुम्तीमा ‘टर्नीङ’ हुन नसकेर ‘ब्याक’ गर्ने क्रममा आइतबार साँझ ग १ ख ४४७६ नम्बरको बस सडकबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गयो । २८ जना घाइते मध्य ५ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ ।

प्रहरीका अनुसार सो दुर्घटनामा मालिका गाउँपालिका–७ बिमकी वर्ष ७० की सतदेवी भट्टचन, वर्ष ११ की आइसा जुग्जाली, वर्ष ९ का रवी जुग्जाली र गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्वोनीकी ३० वर्षीया बिष्णु पाण्डेको मृत्यु भएको हो ।

मालिका गाउँपालिकाकै २ नम्बर वडामा पर्ने ताक्सेको भिरमा शुक्रबार ध १ ज ५९८ नम्बरको जिप साघुरो सडकमा पल्टीदाँ रुमका २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुनको मृत्यु भयो । भित्र बसेका १५ जना सकुशल रहेपनि जिपको छतमा चढेका श्रीपाली र पुन उछिट्टीएर भिरमा खसेका थिए । यो जिप पनि साँघुरो घुम्तिमा टर्नीङ गर्न नसकेपछि ब्याक गराउने क्रममा सडकमा पल्टीएको थियो ।

गत साउनको २२ गते बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को बेनी नगरपालिका–३ हल्लेगौडाको घुम्तीमा मोड नपुगेपछि ब्याक गर्ने क्रममा दुर्घटना हुँदा भकिम्लीका रत्नबहादुर क्षेत्रीको मृत्यु भयो । म्याग्दीमा पछिल्लो समय भएका माथि उल्लेखित तीन वटा दुर्घटना स्थलको प्रकृति एकै किसिमको छ ।

बिम र रुममा घुम्तिमा “टर्नीङ” हुन नसकेपछि गाडी र बस “ब्याक” गर्ने क्रममा सडकबाट गाडी खसेर दुर्घटना भएका इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताउनुभयो । ‘उकालो घुम्तिमा टर्नीङ गराउन ब्याक गरेको गाडी ब्रेक नलागेपछि सडकबाट खसेर दुर्घटना भएको देखिन्छ,’ उहाँले भन्नुभयो ‘सडकको क्षमता भन्दा ठूलो गाडी चलाउनु र चालकका लागि त्यो बाटो नयाँ हुनु पनि दुर्घटनाको थप कारण हो ।’

वि.स २०६८ मा ट्याक खुलेको बिम जोड्ने सडकमा बस चल्न थालेको १५ दिन मात्रै भएको थियो । यसअघि दरवाङ–बिम सडकमा जिप र ट्याक्सी मात्र चल्ने गरेका थिए । पछिल्लो समय स्थानीय तहहरुले लगानी गरेका तीन वटै सडक स्थानीयबासीले प्राबिधिक सर्वेक्षण बिनै डोजर मार्फत खनेका थिए । बिमको सडक जिल्लाका अन्य सडक भन्दा सहज मानिन्थ्यो । अहिलेसम्म दुर्घटना भएको थिएन् ।

ग्रेड र घुम्ती नमिलेका साँघुरो सडकमा क्षमता भन्दा बढी यात्रु बोक्ने, तिब्र गति, यात्रुको हतारो, सडक स्तरोन्नति योजना प्रभावकारी नहुनु र ट्राफिक नियम उल्लङघन गर्दा दुर्घटना हुने गरेको छ । डोजर चालकनै इञ्जिनियर बनेर खनिएका ग्रामिण सडक “एम्बुस” बनेका छन् ।

म्याग्दी यातायात ब्यवसायी कम्पनी प्रा.लिका अध्यक्ष लालबहादुर थापाले प्राबिधिक अध्ययन बिना जथाभावी खनिएका सडकमा सवारी साधन चलाउनु बाध्यता भएको बताउनुभयो । ‘बाटो बनेपछि गाडी चढ्ने गाउँलेको इच्छा हुन्छ तर सडक योग्य छैनन,’ अध्यक्ष थापाले भन्नुभयो ‘स्थानीय तहले सडक स्तरोन्नतिमा गरेको लगानी उपलब्धिमुलक र प्रभावकारी बन्न सकेन् ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीमा गत साउन यता भएका ५ वटा सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७५÷७६ मा भएका सात वटा दुर्घटनामा २ जनाको मृत्यु र १८ जना घाइते भएका थिए । यसैगरी २०७४÷७५ मा १४ वटा दुर्घटनामा ११ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए ।

म्याग्दीका धेरैजसो ग्रामिण सडकहरु सवारी साधन सञ्चालनका लागि योग्य नभएपनि जवरजस्ति गाडी चलिरहेका छन् । डिपिआर बनाएर सडकको ट्याक खोल्नुपर्ने र ट्याक खुलेपछि सेफ्टी अडित गरेर मात्र सार्वजनिक यातायात सञ्चालन गर्ने नीतिगत ब्यवस्था कार्यान्वयन हुन नसकेको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सन्तोष अर्यालले बताउनुभयो ।

‘डिपिआर बिनै डोजर अपरेटरले जता मन लाग्यो त्यती खनेका भरमा सडकमा गाडी गुडाउन योग्य हुदैन,’ उहाँले भन्नुभयो ‘सहज रुपमा यातायातका साधन चल्ने बनाउन मापदण्ड अनुसारको सडक खन्नुपर्छ ।’ सडकको घुम्ति बिच भागबाट १२ मिटर फराकीलो हुनुपर्ने र बाहिरी भागमा ‘सुपर इलिभेसन’ उठाउनुपर्ने इञ्जिनियर अर्यालले बताउनुभयो ।

स्थानीय तहहरुको बजेटको आधा भन्दा धेरै लगानी सडकमै छ । बजेटको दुरुपयोग, प्राबिधिक पक्ष र भूगोललाई ध्यान नदिदाँ सडकमा भएको लगानी अनुसारको प्रतिफल देखिदैन् । उपभोक्ता समितिहरुमा डोजर डुलाएर बजेट सक्ने, जनप्रतिनिधि र कर्मचारीहरुलाई डोजरवालाबाट कमिसन खाएको आरोप लाग्ने गरेको छ ।

सडकको जिर्ण र कच्चि अवस्थाले दुर्घटनाको जोखिमका साथै यात्रुहरु महँगो भाडा तिर्न बाध्य छन् । अनुगमन र नियमनको अभावमा स्थानीय तह र प्रशासनले कायम गरेको भाडादर कार्यान्वयन नहुँदा उपभोक्ता मर्कामा परेका हुन् ।

मर्मत र स्तरवृद्धी भएका सडकमा चल्ने सवारीको भाडादर समायोजन नहुनु, स्थानीय तह तथा नियमनकारी निकायको वेवास्ता तथा व्यवसायीको मनोमानीका कारण सर्वसाधारण ठगीएका छन् । दुई सय रुपैयाँ भाडा कायम भएको १२ किलोमिटर दुरीको बेनी–भगवती सडकमा यात्रा गर्दा तीन सय रुपैयाँ भन्दा बढी तिर्नुपरेको स्थानीय चेतनाथ सुवेदीले बताउनुभयो ।

ग्रामिण क्षेत्रमा सडक र यातायातका साधनको पहुँच विस्तारसंगै म्याग्दीका सडकमा ठूलो मानवीय क्षति हुने गरि दुर्घटना भएका छन् । २०६५ असोज १६ गते दरवाङगको तोलावांगमा ना ३ ख ४८०९ नम्बरको बस दुर्घटना हुँदा तीन जना यात्रुको मृत्यु भएको थियो । २०६६ साउन १२ गते डम्मरामा ना ३ ख ४३७९ नम्बरको माइक्रोबस दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएका थिए ।
२०६७ असोज १९ गते बेनी–जोमसोम सडक अन्तरगत दानाको बादरजुंग भिरमा जीप दुर्घटना हुँदा १४, २०६८ साउन ७ गते बेनी गलेश्वर सडकको जलेश्वरबाट ग १ त १२३९ नम्बरको ट्याक्सी कालीगण्डकीमा खस्दा सात जनाको ज्यान गएको थियो । २०६८ असोजमा बेनी–दरवाङ सडकको रणवाङमा ग १ ख २७०४ नम्बरको मिनिबस दुर्घटना हुँदा १३ जना, २०७० कात्तिक १४ गते बेनी लेकफाँट नागी सडकको धौलापारामा जिप खस्दा १४ जनाको मृत्यु भएको थियो ।

२०७१ असोजमा राम्चेबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ४३२४ नम्बरको जिप हिस्तानको औला गाउँको शिरमा रहेको गिद्धेश्वरको भिरबाट खस्दा १३ जना र २०७२ कात्तिकमा बेनी नगरपालिका–४ थामडाँडामा बरंजाबाट बेनी आउँदै गरेको ग १ ख ५३६६ नम्बरको बस खस्दा दुई बालक सहित तीन जनाको ज्यान गएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: