कोवाङमा स्वास्थ्य चौकीको भवन निर्माण

जोमसोम, १८ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।

सहरी विकास मन्त्रालय अन्तरगतको संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले दुई तले १४ कोठे पक्कि भवन निर्माण गरेको हो । दुई वर्ष अघि तत्कालीन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले भवन निर्माणका लागि महादेवी–नाना जेभीसंग ठेक्का सम्झौता गरेको थियो ।
संघीयता कार्यान्वयनसंगै डिभिजन खारेज भएपछि पोखराको कार्यालयमा यो आयोजना हस्तान्तरण भएको थियो । एक करोड ४३ लाख रुपैयाँ लागत अनुमान गरिएको भवन बनाउन एक करोड १० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । भवनको भुई तलामा बिरामी उपचार, औषधी भण्डारण, प्रसुति, स्वास्थ्य परिक्षण, प्रशासनिक, सहायता कक्षका लागि आठ वटा कोठा छन् ।

माथिल्लो तलामा दुई परिवार स्वास्थ्यकर्मीको आवासका लागि छ वटा कोठा छन् । सुबिधासम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ । यसअघि चौकीको भवन पुरानो र जिर्ण बनेकाले नयाँ बनाइएको हो । भवन बनाउन स्थानीयबासीले पाँच रोपनी जग्गा व्यवस्थापन गरेका वडा सदस्य गौतम शेरचनले बताउनुभयो ।

नवनिर्मीत भवन आइतबार कार्यालय मार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको महादेव निर्माण सेवाका सञ्चालक कृष्णकुमार शेरचनले बताउनुभयो । संघीय आयोजना कार्यान्वयन ईकाई कास्की ईन्जिनीयर शुशिल आचार्यले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडाअध्यक्ष नरप्रसाद हिराचनलाई भवन हस्तान्तरण गर्नुभएको थियो ।

भवन हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले मुस्ताङको समृद्धि र विकासका लागि आफुले निरन्तर पहल गरेको बताउनुभयो । पछिल्लो समय मुस्ताङमा सडक सञ्जालसंगै पर्यटक आवागमन बढेको उल्लेख गर्दै सांसद तुलाचनले पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: