अधुरै रह्यो आयुसाको इञ्जिनियर बन्ने धोको

बेनी, १८ कात्तिक । मालिका गाउँपालिका–७ की आयुसा जुग्जालीको इञ्जिनियर बन्ने लक्ष्य थियो । उनी बिमको किसानी माविको कक्षा ६ की प्रथम विद्यार्थी हुन् ।

पढाइमा निकै मेहनति र पढाएको छिट्टो बुझ्ने आयुसाको इञ्जिनियर बन्ने अधुरै बनायो आइतबार बिमको लुरबाङ स्थित गलघण्टीमा भएको बस दुर्घटनाले ।

दुर्घटनामा आयुसासंगै किसानी माविको कक्षा ३ का छात्र रवी जुग्जालीको पनि ज्यान गयो । बिमकी ७० वर्षीया सतदेवी भट्टचन र गुल्मीको कालीगण्डकी गाउँपालिका–२ की बिष्णु पाण्डेको मृत्यु भएको छ ।

दरवाङबाट बिम तर्फ जाँदै गरेको म्याग्दी यातायात ब्यवसायी कम्पनी अन्तरगतको ग १ ख ४४७६ नम्बरको बस दुर्घटनामा परि घाइते भएका २८ जना मध्य ५ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

आयुसा र रवी दुवै जना कक्षा प्रथम विद्यार्थी भएका किसानी माविका शिक्षक लक्षुमण गौतमले बताउनुभयो । ‘विद्यालयका लगनशिल, मेहनति, अनुशाषित र प्रिय विद्यार्थी गुमाउँदा दुखित छौ,’ शिक्षक गौतमले भन्नुभयो ।

आयुसाका बुवा रेशम जुग्जाली बिमका वडा अध्यक्ष हुनुहुन्छ । आमा ज्योतीले गाउँमै किराना पसल सञ्चालन गर्नुहुन्छ । रेशम र ज्योतीका दुई सन्तान मध्य आयुशा जेठी हुन् । उनका भाई छन् ।

‘छोरीको पढेर इञ्जिनियर बन्ने चाहना थियो,’ जुग्जालीले भन्नुभयो ‘मलाई पनि राजनीति र समाज सेवामा हौसला दिदै तपाई ठूलो मान्छे हुनुपर्छ बुवा भन्थिन् । छोरीलाई इञ्जिनियर बनाउने मेरो सपना अधुरै रह्यो ।’

Leave a Reply

Scroll to Top
%d bloggers like this: