लक्ष्य अघिनै निर्माण भएको जिससको सभाहल हस्तान्तरण

बेनी, १८ कात्तिक ः लक्ष्य भन्दा दश महिना अघिनै निर्माण भएको जिल्ला समन्वय समिति म्याग्दीको सभाहल सोमबार हस्तान्तरण गरिएको छ ।

निर्माण कम्पनी थानी–जयलक्ष्मी जेभीले सहरी विकास तथा भवन कार्यालय बागलुङ मार्फत जिल्ला समन्वय समितिलाई भवन हस्तान्तरण गरेको हो । कम्पनीका प्रतिनिधि जयन्द्र श्रेष्ठले कार्यायका प्रमुख तेजेन्द्र पौडेल र पौडेलले जिससका खरिदार नारायण शर्मालाई भवनको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

२०७५ चैत १८ गते सम्झौता भएको भवन २०७७ असोज सम्म सक्ने लक्ष्य भएपनि एक वर्ष पहिलेनै सकेर सम्बद्ध कार्यालयलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । व्यवसायीको इच्छाशक्ति, कार्यक्षेत्रमा काम गर्ने सहज वातावरण, सम्बद्ध कार्यालयबाट निगरानी र सहजिकरण भयो भने ढिलासुस्ति हटाउन सकिने यो भवन निर्माणका क्रममा अनुभव भएको उहाँले बताउनुभयो ।

अनुमान भन्दा २५ प्रतिशत घटेर ठेक्का लिएको ठेकेदार कम्पनीले भ्याट बाहेक एक करोड ६७ लाख रुपैयाँमा सम्झौता गरेको थियो । पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन, समयमै निर्माण सामग्रीको व्यवस्थापन तथा सम्बद्ध कार्यालयको सहयोगबाट लक्ष्य अघिनै भवन बनाउन सफल भएको निर्माण व्यवसायी जयन्द्र श्रेष्ठले बताउनुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले ठेकेदार, कम्पनी र कार्यालयले हस्तान्तरण गरेपनि औपचारिक समारोहको आयोजना गरेर सभाहल उद्घाटन गराउने तयारी भएको बताउनुभयो ।

दुई तले भवनको भुई तलामा आठ वटा कोठा र माथिल्लो तलामा सात सय जना क्षमताको सभाहल छ । यो जिल्लाकै ठूलो र सुबिधा सम्पन्न सभाहल हो । भुई तलामा जिल्ला समन्वय समितिको कार्यालय सञ्चालनमा प्रयोग गरिने भएको छ ।

सभा, समारोह, अधिवेशन, सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज भएको छ । सभाहलको अभावमा ठूला कार्यक्रमहरु सडक र चोकमा आयोजना गर्नुपर्ने बाध्यता हटेको छ ।

तत्कालिन जिल्ला विकास समितिले दन्द्ध्उत्तोर शान्ति तथा पुनःनिर्माण परियोजना अन्तरगत २०७३ असारदेखि निर्माण सुरु गरेको सभाहल शान्ति तथा पुनःनिर्माण मन्त्रालयको खारेजीसंगै बजेट व्यवस्थापन नहुँदा अलपत्र बनेको थियो ।

रु. एक करोड ४२ लाखको लागतमा दुई तले भवनको जग हाल्ले, पिल्लर ठडाउने र ढलान गरिएको थियो । प्रदेश सरकारबाट थप बजेट व्यवस्थापन गरेर कोठा विभाजन, पलास्टर, फर्निचर, रंगरोगन, विद्युत, पानी जडान, शौचालय बनाई भवनलाई पूर्णता दिएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: