बिम बस दुर्घटनामा चार जनाको ज्यान गयो, २६ जना घाइते (अपटेड)

बेनी १७ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् ।

दरवाङ बजारदेखि बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटनाहुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताउनुभयो ।

मालिका गाउँपालिका–७ बिमकी वर्ष ७० की सतदेवी भट्टचन, वर्ष ११ की आयुसा जुग्जाली र अन्दाजी वर्ष ८ का रवी जुज्गालीको सनाखत भएको छ । एक महिनाको सनाखत हुन सकेको छैन् । आयुसा किसानी माविको कक्षा ६ र रवी कक्षा ३ मा पढ्ने विद्यार्थी भएका शिक्षक लक्ष्मण गौतमले बताउनुभयो ।

२१ जना घाइतेहरुको प्राथमिक उपचार केन्द्र दरवाङमा उपचार गरिएको छ । पाँच जना घाइतेलाई थप उपचारका लागि बेनी अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताउनुभयो ।

घाइतेहरुमा मालिका–७ बिमका ६० राजमान दर्जी, ५३ का हुमबहादुर जुग्जाली, ३८ वर्षीय पलप्रसाद जुग्जाली, २६ वर्षीया नरदेवी परियार, २६ वर्षीय दिलु शेरपुञ्जा, ६ वर्षीया कृष्टिना जुग्जाली, ६१ वर्षीय तनदेवी जुग्जाली, ६० वर्षीय चन्द्रकली दर्जी, ३८ वर्षीय पलदेवी जुग्जाली रहेका प्रहरीले जनाएको छ ।

बिमकै अन्दाजी वर्ष १७÷१८ का सुरेश जुग्जाली, ३१ वर्षीया लीला जुग्जाली, धवलागिरी गाउँपालिका–३ दरकी १८ वर्षीय रिलमाया बुढा, बेनी नगरपालिका–३ भकिम्लीका ३५ वर्षीय केशव शर्मा न्युरे, मंगला गाउँपालिका–५ छिस्वाङका २२ वर्षीया रमिला खत्री, बेनी नगरपालिका–९ घतानका बिसन खत्री, बेनी–४ राक्सेका १७ वर्षीय गौरब पौडेल, १९ वर्षीय प्रमिस पौडेल र ताराखोला गाउँपालिका–५ का १७ वर्षीय बिजय कडेलको दरवाङमा उपचार गरिएको छ ।

स्थानीयबासी, जनप्रतिनिधि र सुरक्षाकर्मी उद्धारमा खटिएका थिए । करिब सवा छ बजेतिर दुर्घटना भएको थियो । रातको अध्याँरोका कारण उद्धारमा समस्या भएको थियो । बेनीबाट बिमका लागि छुटेको बस दरवाङमा पुगेर बिग्रीएपछि यात्रुलाई दुर्घटना भएको बसमा चढाएर बिम पठाइएको थियो ।

घुम्तीमा बस टर्नीङ हुन नसकेपछि ब्याक गर्ने क्रममा ब्रेक नलागेपछि बस अनियन्त्रित भई उल्टो गुड्दै सडकबाट खसेको प्रत्यक्षदर्शी यात्रु टिककुमार पाइजाले बताउनुभयो । बस पछाडीतर्फ गुड्न थालेपछि हामफालेको पाइजाले बताए । बसमा तीस जना यात्रु सवार थिए । दुर्घटनापछि फरार भएका चालकको खोजी भइरहेको प्रहरी निरिक्षक शर्माले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: