म्याग्दीका जेष्ठ खेलाडीलाई टोड्केमा सम्मान

टोड्के, १६ कात्तिक ः राष्ट्रिय खेलकुद विकास परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सीनाले खेलकुदको माध्यमबाट नेपालमा पर्यटन विकास गर्न सकिने बताउनुभएको छ ।

मंगला र रघुगंगा गाउँपालिकाको सिमाना टोड्केमा शनिबार म्याग्दीका ५० वर्ष उमेर पुगेका राष्ट्रिय खेलाडीलाई सम्मान तथा आसन्न सागमा नेपालको तर्फबाट सहभागि हुने ह्याडबलका खेलाडीहरुको हाइअल्टीच्युड तालिमको उद्घाटन गर्दै तिमिल्सीनाले खेल पर्यटनमा जोड दिइएको बताउनुभयो ।

उपाध्यक्ष तिमिल्सीनाले खेल पूर्वाधारको विकाससंगै खेलाडीहरुको हितमा नीतिगत सुधारको पहल गरिएको बताउनुभयो । पञ्चायति शैलीमा चलिरहेको खेलकुदलाई सुधार गर्न प्राथमिकता दिएको बताउनुभयो । सो अवसरमा टोड्के हिल रिसोर्ट प्रालीले म्याग्दीका पचास वर्ष पुगेका पाँच जना जेष्ठ खेलाडीहरुलाई सम्मान गरेको छ ।

सम्मानीत हुनेहरुमा पौडी तथा डाईभिङको अन्तराष्ट्रिय उपाधि बिजेता समेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, भलिबलका मिलन श्रेष्ठ, कैशीला खत्री, एथलेटिक्सका मिनबहादुर पाइजा र बक्सीङका मानबहादुर बुढाथोकी रहनुभएको छ ।

उहाँहरुलाई राखेपका उपाध्यक्ष तिमिल्सीना, नेपाल ह्याडबल संघका अध्यक्ष तेजबहादुर गुरुङ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, प्रहरी निरिक्षक धु्रबप्रसाद शर्मा, टोड्के हिल रिसोर्ट प्रा.लीका अध्यक्ष मिनबहादुर पाइजा लगायतले सम्मान गर्नुभएको थियो ।

सागको तयारीमा रहेका ह्याडबल खेलका खेलाडीहरुलाई उच्च स्थानमा तालिम प्रदान, जेष्ठ खेलाडीहरुको योगदानको कदर र टोड्केको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिसोर्टका सञ्चालक भिम शेरचनले बताउनुभयो ।

समुन्द्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा अवस्थित टोड्केको खेलमैदानमा १३ औ दक्षिण एशियाली खेलकुद (साग) मा सहभागि हुने ह्याडबल खेलको नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुले तालिम गरेका छन् ।

पोखरामा बन्द प्रशिक्षणमा रहेका पुरुष र महिला ह्याडबलका १६÷१६ जना खेलाडीहरु बिहीबार म्याग्दी आएका थिए । उनिहरुबीच शनिबार टोड्केमा मैत्रीपूर्ण खेल खेलाइएको थियो । खेलाडीहरुलाई मानसिक र शारिरिक प्रशिक्षण गराइएको थियो ।

खेलाडीहरुको तनाव व्यवस्थापन र मानसिक तयारीका लागि टोड्के उपयुक्त स्थान भएको ह्याडबल संघका अध्यक्ष गुरुङले बताउनुभयो । आउदा मंसिर १५ देखि २४ गतेसम्म पोखरामा १३ औ साग अन्तरगत ह्याडबल महिला र पुरुष सहित ९ वटा खेलहरु हुने भएका छन् । तस्बिर सुरेन गुरुङ

Leave a Reply

Scroll to Top
%d bloggers like this: