रुमको ताक्सेमा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गयो (अपडेट)

बेनी १५ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नम्बरको जिप दरवाङ–रुम सडकको ताक्सेमा पल्टिएको थियो ।

जिप पल्टीदा भिरमा खसेका मालिका–२ का २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुनको शव भेटिएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताउनुभयो ।

रुखमा अड्कीएको अवस्थामा उद्धार गरिएका एक जनाको अवस्था सामान्य छ । मालिका–१ का जिपका चालक ३३ वर्षीय डम्मरबहादुर सिउथानीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिप भित्र बसेका १५ जना यात्रु भने सकुशल छन् । जिप पल्टीदा भिरमा खसेका यात्रुहरु छतमा चढेका हुन सक्ने प्रहरीको अनुमान छ । उकालो बाटोमा जिप ब्याक भएर सडकमै पल्टिएको यात्रुहरुले बताएका छन् । जिप दुर्घटना भएको ठाउँको सडक साघुरो छ ।

दरवाङबाट गएको प्रहरी टोली, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीयबासीहरुले भिरको फेदीमा रहेको शव निकालेर सडकमा ल्याएका थिए ।

रुमको ताक्सेमा दुर्घटना भएको जिप । तस्बिर सौजन्य सन्तोष सुवेदी

Leave a Reply

Scroll to Top
%d bloggers like this: